रौतहट । रौतहटको सदरमुकाम गौर–१ स्थित गौर सेन्टर हस्पिटलका सर्जन डाक्टरको लापरबाहीका कारण १८ वर्षीय युवकको मृत्यु भएको आरोप लागेको छ। मृतकका परिवारले घटनाको छानबिन गरी दोषी चिकित्सकमाथि कारबाहीको माग गरेका छन्।
मृतक लालु अधिकारी (गौर नगरपालिका–३ का काका देवेन्द्र अधिकारी का अनुसार पेट दुखाइको उपचारका लागि शनिबार प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएका लालुको आन्द्रा फुटेको प्रारम्भिक परीक्षणपछि पुष्टि भएको थियो।
प्रादेशिक अस्पतालका डाक्टर घनश्याम ठाकुर ले आवश्यक सुविधा नभएको भन्दै डाक्टर पंकज साह सँग सम्पर्क गर्न सुझाएका थिए। त्यसपछि डाक्टर पंकजको टोलीले गौर सेन्टर हस्पिटलमा अप्रेसन गराएपछि बिरामीको अवस्था गम्भीर भएको थियो।
डाक्टरहरूलाई खबर गरेपछि अक्सिजनसहित एम्बुलेन्समा बिरामीलाई वीरगञ्जको नेशनल मेडिकल कलेज लग्न सुझाव दिइयो। तर, राति ११ बजे अस्पताल पुगेपछि डाक्टरले बिरामीको मृत्यु भइसकेको घोषणा गरे।
मृतकका परिवारले डाक्टर फिरोज अन्जुम, पंकज साहसहितको टोली सम्पर्कविहीन रहेको भन्दै घटनालाई शंकास्पद बताएका छन्।
प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मुरारी ठाकुर ले बिरामीलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा रिफर गर्नुपर्नेमा गौरकै निजी अस्पतालमा किन पठाइयो भन्ने अनुसन्धानको विषय भएको बताए।
अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमी ले घटनाका सम्बन्धमा डाक्टर घनश्याम ठाकुर, पंकज साह र फिरोज अन्जुमसँग लिखित स्पष्टीकरण मागिएको जानकारी दिए।
मृतकका काका देवेन्द्र अधिकारीले डाक्टरहरूको लापरबाहीले युवकको ज्यान गएको दाबी गर्दै छानबिन गरी दोषी चिकित्सकमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
स्थानीयवासीले पनि घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गर्दै स्वास्थ्य क्षेत्रमा देखिएको लापरबाहीलाई कडाइका साथ कारबाही गर्नुपर्ने बताएका छन्।