काठमाडौं । शुक्रबार भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा २० जनालाई गोली लागेको पाइएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले हिंसात्मक प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा चलाएको गोली लागेर २० जना घाइते भएको बताए । उनले भने, ‘गोली लागेकामध्ये दुई जना महिला थिए ।’
राजावादी समूहले गरेको प्रदर्शनका क्रममा गोली लागेर ललितपुरका सविन महर्जनको मृत्यु भएको थियो । कोटेश्वरस्थित शंकर मार्गमा रेविका र दिनेश खत्री घाइते भएका थिए ।
प्रहरीका अनुसार, ५८ राउन्ड हवाई फायर, कार्टिज (छर्रा) २३९ र पेस्तोलबाट २ राउन्ड गोली चलेको छ । यो नेपाल प्रहरीको मात्र विवरण हो, सशस्त्र प्रहरीबाट समेत शुक्रबार गोली चलेको थियो ।
त्यो हेर्दा प्रहरीबाट अत्यधिक बल प्रयोग भएको भन्दै कतिपय जानकारहरुले आलोचना समेत गरिरहेका छन् ।