वीरगञ्ज । खेलकुद तथा समाज कल्याण मधेस प्रदेशका मन्त्री प्रमोद जैसवालले पर्साको दोश्रो शहरको रूपमा परिचित पोखरीया नगरपालिका वडा नम्बर १ स्थित निर्माण हुन लागेको ढलान सडकको शिलन्यास गरेका छन् ।
३० लाख रुपैयाँको लागतमा पोखरीयामा निर्माण गर्न लागिएको ढलान सडकको मन्त्री जैसवालले आज मंगलबार एक कार्यक्रम बीच शिलान्यास गरेका हुन् ।’
शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री जैसवालले महत्वपूर्ण र अति आवश्यक योजना मात्र माग गर्न आग्रह गर्दै धेरै मागेर योजना अपुरो छोड्नु भन्दा थोरै माग गरेर पूर्ण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, "धेरै भारि बोके बिचैमा छोड्नु पर्ने हुन्छ । त्यसैले विकासका आयोजना थोरै आवश्यकता र महत्व हेरेर माग गर्नुपर्ने हुन्छ ।" विगतमा आयोजना शिलान्यास भएर सम्पन्न नभएका धेरै घटनाहरू रहेको सङ्केत गर्दै सोही कारण तीनै तहका सरकार प्रति नागरिकको नैराश्यता बढेको उहाँको भनाइ छ ।
मन्त्री जैसवालले नागरिक आफ्नो कुलदेवताको मूर्तिदेखि सामूदायिक भवन पनि सरकारले बनाइ दियोस भन्ने आकांक्षामा छन् । सबै कुरा सरकारले गर्छ, हामीले केही गर्नु पर्दैन भन्ने सोचमा नरहन उहाँले आग्रह गर्नुभयो । साथै निर्माण हुन लागेको सडक ढलानको काम राम्रो गर्नुपर्ने निर्देशन दिँदै बेला बेलामा अनुगमन पनि गरिने बताउनु भयो ।
उक्त कार्यक्रममा नेकपा एमालेका पोखरीया नगर कमिटी अध्यक्ष विनाचल ठाकुर , वडा नं १ का वडा अध्यक्ष प्रमोद गिरी , उमेश चौहान , पनालाल पटेल लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।