बुटवल । भारतको जम्मु कश्मीरमा घुम्ने क्रममा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपाको अन्त्येष्टि त्रिवेणीमा गरिने भएको छ ।
उनका आफन्तका अनुसार पश्चिम नवलपरासीसँग सीमा जोडिएको त्रिवेणीमा आजै अन्त्येष्टि गर्न लागिएको हो ।
मंगलबार दिउँसो बन्दुकधारी आतंकवादीले सुदीपको गोली हानेर हत्या गरेका थिए । उनको शव आज बिहान घर ल्याइएको हो ।
२७ वर्षीय सुदिप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको मिनी स्वीजल्याण्डसमेत भनिने वैसरण उपत्यकामा हिउ खेल्ने र घुम्ने उद्देश्यले त्यसतर्फ प्रस्थान गरेका थिए ।
त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मंगलबार दिउँसो एक्कासी बन्दुकधारी आतंकवादीले गोली हानेर सुदीपको ज्यान लिएका थिए । सुदिपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाएका थिए ।
भाग्ने क्रममा रिमाकला सामान्य घाइते समेत भएकी थिइन् । सुदिपको शवसँगै आमा र बहिनी ज्वाइँ पनि घर आइपुगेका छन् ।
उक्त आतंकवादी घटनामा कम्तिमा २६ जना मारिएका छन्, तीमध्ये दुई जना विदेशी नागरिक थिए ।
आमाबुवाको सम्बन्ध विच्छेद भएपछि सुदीप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए । त्यसअघि उनीहरूको घर बुटवल–१४ बेलभरियामा थियो । सुदीपको पुर्ख्यौली घर भने पाल्पाको बगनासकाली गाउँपालिका वडानम्बर ४ हो ।
शिक्षण पेशामा आवद्ध बुबा ध्रुव न्यौपाने शिक्षक आन्दोलनका क्रममा काठमाडौंमा थिए । मंगलबार घर फर्किने क्रममा उनले छोराको अप्रिय खबर थाहा पाएका थिए ।