भारतले पाकिस्तानमा आक्रमण गरेको छ । जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको १५ दिन पछि भारतले गएराति कश्मीरमा रहेका ९ क्षेत्रमा हवाई आक्रमण गरेको हो । यसलाई भारतले ‘अपरेशन सिन्दूर’ भनेको छ ।
एएनआईका अनुसार यो अप्रेशनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँले नियाल्नुभएको थियो । गएको अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो । लगत्तै भारत र पाकिस्तानबीचको सम्बन्ध थप बिग्रिएको हो ।
भारतले पाकिस्तानमाथि सैन्य कारबाही शुरूगरेसँगै तनाव बढेको छ । पछिल्लो आक्रमणका कारण केहीले ज्यान गुमाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
त्यस्तै उत्तरी भारतको हवाई उडानहरु प्रभावित भएका छन् । अहिले आक्रमण भएका सबै ठाउँबाट भारतमाथि हुने आतङ्की आक्रमणहरूको योजना र निर्देशन भइरहेको भारतीय रक्षा मन्त्रालयको दाबी छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको उक्साहट भन्दै कडा निन्दा गर्नुभएको छ । साथै उहाँले यसको बलियो जवाफ दिने चेतावनीसमेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
संयुक्त राष्ट्रसङ्घले दुवै पक्षलाई संयम रहन आग्रह गरेको छ । दुई आणविक शक्तिहरूबीचको युद्ध विश्वका लागि नै चुनौतीपूर्ण हुने राष्ट्रसङ्घले उल्लेख गरेको छ ।
पलहगाम घटनाको भारतीय राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले विस्तृत अनुसन्धान गरिरहेको छ ।
भारतमा आज सिभिल डिफेन्स पूर्वाभ्यास अर्थात् ‘मक ड्रिल’ हुँदैछ । सरकारको गृह मन्त्रालयले आज राज्य र केन्द्र शासित प्रदेशहरूलाई सिभिल डिफेन्स पूर्वाभ्यास गर्न निर्देशन दिएको हो ।
‘सिभिल डिफेन्स’ को कानून अनुसार गृह मन्त्रालयसँग राज्यहरूलाई यस प्रकारको पूर्वाभ्यासको निर्देशन दिने अधिकार रहन्छ ।
पूर्वाभ्यासमा कुनै आपत्कालीन स्थितिमा मानिसहरूको प्रतिक्रिया कस्तो हुन्छ भन्ने जाँच्न खोजिन्छ । आमरूपमा कुनै हमला या घटनामा आपतकालीन स्थितिका लागि कस्तो तयारी छ ? भन्ने जान्नका लागि पूर्वाभ्यास गरिन्छ ।