वीरगञ्ज l नेपाल–भारत सीमा क्षेत्रमा बढ्दो सुरक्षा चुनौती, चोरी–तस्करी नियन्त्रण र व्यापारिक सहजीकरणलाई केन्द्रमा राख्दै नेपाल–भारत सीमा सुरक्षा समन्वय समितिको बैठक भारतको रक्सौलस्थित एकीकृत भन्सार जाँचचौकी (आईसीपी) मा सम्पन्न भएको छ।
दुवै देशका सुरक्षा तथा प्रशासनिक अधिकारीहरूको सहभागितामा भएको बैठकले सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रणका लागि संयुक्त समन्वयलाई थप सशक्त बनाउने विषयलाई प्राथमिकता दिएको छ। छलफलका क्रममा सीमापार अपराध नियन्त्रण, सूचना आदान–प्रदानको प्रभावकारिता, वन तथा वातावरण संरक्षण तथा सीमा व्यवस्थापनलाई व्यवस्थित बनाउने विषयमा विशेष जोड दिइएको थियो।
बैठकमा सहभागी अधिकारीहरूले नेपाल–भारत सीमाको सुरक्षा केवल सुरक्षा निकायको मात्र नभई आर्थिक गतिविधि, व्यापारिक प्रवाह तथा स्थानीय जनजीवनसँग समेत प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।
बैठकले दुवै देशका सम्बन्धित निकायबीच नियमित संवाद, सूचनाको आदान–प्रदान र संयुक्त पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। यसले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणसँगै वैध व्यापारलाई थप सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बैठकमा नेपालका तर्फबाट बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सुरक्षा निकाय तथा वन कार्यालयका प्रतिनिधिहरू सहभागी थिए भने भारतका तर्फबाट पूर्वी र पश्चिमी चम्पारणका जिल्ला अधिकारी (डीएम), बिहार प्रहरीका वरिष्ठ अधिकारी, सशस्त्र सीमा बल (एसएसबी)का कमान्डेन्ट तथा वन कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।