जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि चुलिएको भारत-पाकिस्तान तनावले नयाँ मोड लिएको छ । भारतीय सेनाले पाकिस्तानमा ‘अपरेशन सिन्दूर’ नाम दिँदै मिसाइल आक्रमण गरेपछि दुवै देशका नागरिकहरू मारिएको पुष्टि हुन थालेको छ । तनाव चर्किएसँगै पाकिस्तानको पञ्जाब प्रान्तमा आम जनसुरक्षालाई ध्यानमा राख्दै सम्पूर्ण विद्यालयहरू बन्द गरिएका छन्।
पञ्जाबकी मुख्यमन्त्री मरियम नवाज शरीफले विद्यालयसहित विश्वविद्यालय तथा कलेजमा सञ्चालन हुने परीक्षा समेत स्थगित गरिएको घोषणा गरेकी छन् । यद्यपि अन्तर्राष्ट्रिय परीक्षा बोर्डहरूले सञ्चालन गर्ने परीक्षाहरू भने यथावत् सञ्चालन हुने जनाइएको छ ।
सन् २०२५ अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा पर्यटकमाथिको हमलामा एक नेपालीसहित २६ जनाको ज्यान गएपछि भारतले सो आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको थियो । त्यसैको जवाफस्वरूप भारतले मिसाइल आक्रमण गरेको दाबी गरिएको छ ।
गोलाबारी र विष्फोटले सीमा तनावग्रस्त
समाचार संस्था रोयटर्सका अनुसार पाकिस्तानका सीमावर्ती क्षेत्रमा गोलाबारी र विष्फोटका घटनाहरू भइरहेका छन् । भारतीय सेनाले कश्मीर क्षेत्रमा पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको ज्यान गएको पुष्टि गरेको छ ।
उता, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीसँगको अन्तर्वार्तामा भारतको आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको बताएका छन् । उनका अनुसार आक्रमणमा एक मस्जिदलगायत कैयौं सर्वसाधारण क्षेत्रहरू लक्षित गरिएको थियो ।
पाक प्रधानमन्त्रीको कडा चेतावनी
घटनापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतको आक्रमणप्रति कडा प्रतिक्रिया जनाएका छन् । उनले पाकिस्तानले आफ्ना नागरिकहरूको सुरक्षाका लागि भारतीय आक्रमणको निर्णायक जवाफ दिने अधिकार सुरक्षित रहेको स्पष्ट पारेका छन् ।
भारत-पाकिस्तानबीचको सम्बन्ध झनै चिसिँदै गएको अवस्थामा अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र द्वन्द्वको समाधान संवादबाट गर्न आह्वान गरिरहेका छन् ।