पर्सा । पर्सा जिल्लामा भइरहेको राँगाको अवैध तस्करी नियन्त्रण बाहिर गएको छ । खुला सीमानाको फाइदा उठाउँदै भारतीय राँगा, पाडा तथा भैंसीको अवैध आयातले राजस्व छलीसँगै अपराधिक गतिविधि तथा सुरक्षा चुनौती समेत बढाएको बताइन्छ ।
प्रहरीका उच्च अधिकारीदेखि उच्च राजनीतिक दलहरुसम्म सहजै पहुँच राख्ने गिरोहले सञ्चालन गरेको राँगा तस्करी नियन्त्रण गर्न स्वयम् सुरक्षाकर्मी नै डराउने अवस्था बनेको छ । सीमा क्षेत्र अमरपट्टि , प्रसौनी , धोरे , खेश्राहा र सबैठवा वरपरका खुला सीमानाकाहरुबाट भित्र्याइने राँगा पाडा नियन्त्रणमा नेपाली र भारतीय सुरक्षाकर्मी , भन्सारका कर्मचारी तथा एसएसबी समेत डराएपनि अवस्था जटिल बन्दै गएको हो ।
दुबै मुलुकमा उच्च ओहोदासम्म पहुँच राख्ने र त्यहाँबाट सहजै सयौ राँगा तस्करी गर्ने गिरोहको ठूलो सञ्जाल भएपनि देखिने पात्रमा सीमित व्यक्ति छन् । तीनमा विनोद नेटुवा भन्ने व्यक्ति एउटा पात्र हुन् । पकाहाँमैनपुर वडा नं २ टोल मधुबनी अस्थायी बसोबास गर्ने नेटुवा भारतीय बजारदेखि सीमा क्षेत्र हुँदै नेपालको सडकमार्ग प्रयोग गरेर जीतपुरसम्म सजिलैसँग राँगा, पाडा पठाउने गरेको बताइन्छ । नटुवालाई परिचालित गर्ने अहमदले सो क्षेत्रका राजनीतिक दलका उच्च नेतृत्वदेखि सुरक्षा संयत्र, प्रशासकदेखि पत्रकारसम्मलाई प्रभावमा पारेर निर्वाध अवैध गोरखधन्दा चलाउँदै आएको सुरक्षाकर्मीहरु नै बताउँछन् ।
अहमदले सहयोगीको रुपमा नटुवा र एक जना यादव थर व्यक्ति देखिएका छन् । नेटुवा मात्र बाटोघाटो क्षेत्रको नेटवर्क हेर्ने जिम्मा दिइएको छ । नेटुवालाई परिचालित गर्ने अहमदले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका डिआइजीदेखि पर्सासम्मका एसपीहरु, पशु क्वारेन्टाईन, आन्तरिक राजस्व कार्यालय, वीरगन्ज भन्सार कार्यालय तथा सञ्चारकर्मीहरुलाई समेत हातमा लिएर काम गर्दै आएको स्रोतको दाबी छ ।
सरकारले पाँच वर्षअघि राँगा, खसीबोका आयातमा कडाई गरेसँगै यसको तस्करीमा बढोत्तरी भएको हो । पशु ज्ञान केन्द्र पर्साका अनुसार जिल्लामा पशुपालनबाट वार्षिक १० हजार राँगा पाडा उत्पादन हुने गरेको अनुमान छ । तर पर्सामा संचालित पशु हाट बजारबाट मात्रै सातामा एक हजारभन्दा बढि राँगा जीतपुर र काठमाडौं पठाउने गरिएको छ ।
भारतको शिश्वा , भेलाहि , सिद्धवालिया , कथियामाथिया सीकाटाबाट साताको तीन दिनमा दुई करोड बढीका राँगा, पाडा भित्रने गरेको पाइएको छ । प्रत्येक नाकाबाट दैनिक एक सयदेखि दुई सय राँगा भित्रने गरेको स्थानीयबासीहरु बताउँछन् ।
यसरी हुन्छ तस्करी
हरेक आइतबार, सोमबार र मंगलबार भारतको सीमानाबाट रातको समयमा सबैठावा , प्रसौनी , धाेरे , खेश्राहा लगायत विभिन्न नाकाबाट राँगा पाडाहरु नेपाल भित्र्याइन्छ । त्यसपछि सोमबारदेखि बुधबारसम्म चल्ने पशु हाटबजारमा ती राँगा, पाडालाई नेपाली पशु प्रमाणित गरिन्छ । सँगसँगै विभिन्न तरिकाले भेटनरी प्रमाणित गराइन्छ ।
पर्सामै दर्ता भएका पशुपंक्षी फर्म तथा सप्लायर्सले किसानबाट ती पाडापाडी किनेको कागज कहिल्यै बनाइएको हुन्छ । ती सप्लायर्सहरुले प्यान बिलको आधारमा नक्कली भेटनरी कागज तयार गरी अनलाइन बीलको आधारमा काठमाडौं पठाइन्छ । यहाँबाट प्रत्येक साता आठ सयदेखि एक हजार राँगा, पाडा काठमाडौं पुर्याइन्छ । चाडबाड नजिकिएसँगै यसको माग अझ बढ्ने गरेको छ ।
करोडौं राजस्व चुहावट
पर्सामा मासुको लागि राँगा, पाडापाडी सम्बन्धी कुनै फर्म नै देखिँदैन । भन्सारबाट समेत राँगा, पाडा आयात नगरिएको अवस्थामा त्यति ठूलो परिमाणमा जीतपुर र काठमाडौं निर्यात हुनुले पनि यसको अवैध तस्करी भइरहेको पुष्टि हुने गरेको बताइन्छ ।
अवैध राँगा तस्करीबाट वीरगन्ज भन्सारमा मात्रै मासिक २ करोड बढीको राजस्व चुहावट हुने गरेको छ । यसबाट नेपाली पशुपालक किसानहरु मर्कामा परेका छन् । रोगी तथा संक्रमित पशुहरुको अवैध ओसारपसारका कारण उपभोक्ताहरुको स्वास्थ्य समेत जोखिममा परेको देखिन्छ ।
सुरक्षाकर्मीलाई चुनौती
राजस्व चुहावट नियन्त्रण गर्न अर्थ तथा गृह मन्त्रालयले दबाब सिर्जना गरेकै कारण एक सय रुपैयाँभन्दा बढिका सामान भारतबाट ल्याउँदा भन्सार तिर्न दबाब दिने सुरक्षाकर्मी सातामा दुई करोड बढीका राँगा, पाडा निर्वाध भित्रँदा नदेखेझैं गर्छन् । राँगा तस्कर सञ्जालका प्रमुखको रुपमा चिनिएका अहमद दाबी गरेझै सीमानाकामा राँगा समात्ने बितिक्कै छाड्नका लागि उच्च राजनीतिक दबाब हुने गर्छ । कतिपय अवस्थामा प्रहरीका हाकिमले समेत फोन गरेर आफूहरुलाई थर्काउने गरेको सीमा क्षेत्रका सुरक्षाकर्मीको गुनासो छ ।
‘कसैको ५ किलो चिनी पनि समात्न भन्छन्, कसैको करोडौंका सामान किन समातेको भन्दै थर्काउछन् ’ सीमा क्षेत्रमा खटिएका एक सुरक्षाकर्मीले भने । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका मात्रै सीमानामा दर्जन बढी चौकी तथा बिओपी छन् । तर संगठित तस्करी नियन्त्रण उनीहरुको निम्ति चुनौती बन्दै गएको छ ।