पकाहाँमैनपुर । पकाहाँमैनपुर गाउँपालिकामा शिक्षा क्षेत्रको अवस्था अत्यन्तै दयनीय बन्दै गएको छ। गाउँपालिकाका जनप्रतिनिधि तथा जिम्मेवार पदाधिकारीहरूको चरम लापरवाहीका कारण विद्यार्थीहरूको भविष्य अन्धकारमा परेको छ।
हालै सार्वजनिक भएको २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले पकाहाँमैनपुर गाउँपालिकाको शिक्षा अवस्थाको वास्तविकता उजागर गरेको छ। पालिका अन्तर्गतका दुई वटा माध्यमिक विद्यालयबाट १६८ जना विद्यार्थीले एसईई परीक्षा दिए पनि जम्मा २४ जना मात्र उतीर्ण भएका छन्। बाँकी १४३ जना विद्यार्थी पूर्णरूपमा अनुत्तीर्ण भएका छन्, जुन तथ्यले सम्पूर्ण शिक्षा प्रणालीको बेथिति देखाउँछ।
श्री राम चरित्र भगत माध्यमिक विद्यालय, पकाहाँमैनपुरबाट १२० जना विद्यार्थीले परीक्षा दिएका थिए, तर जम्मा १७ जना मात्र उतीर्ण भएका छन्। त्यस्तै, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, धोरेबाट ४८ जनाले परीक्षा दिएका थिए, जसमध्ये ७ जनामात्र सफल भएका छन्।
यस गम्भीर शैक्षिक विफलतामा शिक्षा शाखा प्रमुख सञ्जय चौहान र गाउँपालिका अध्यक्ष सुरेश मेहताको चरम गैरजिम्मेवारीपन देखिन्छ। विद्यालयमा पठन–पाठनको गुणस्तर, विद्यार्थी अनुशासन, शिक्षकको नियमितता तथा पालिकाको निगरानी व्यवस्थापन पूर्ण रूपमा कमजोर रहेको स्पष्ट देखिन्छ।
जनताका लागि जिम्मेवार बन्नुपर्ने पालिका अध्यक्ष सुरेश मेहता र शिक्षा शाखा प्रमुख सञ्जय चौहान विद्यालय र विद्यार्थीको भविष्यप्रति उदासीन देखिएका छन्। स्रोत साधनको दुरुपयोग, शिक्षालाई प्राथमिकतामा नदिने प्रवृत्ति र विद्यालयहरूको कमजोर अनुगमन नै यो दयनीय नतिजाको प्रमुख कारण हो।
स्थानीय अभिभावक, शिक्षक तथा समाजसेवीहरूले पालिकालाई तत्काल शिक्षामा सुधार गर्न कडा कदम चाल्न आग्रह गरेका छन्। अन्यथा विद्यार्थीहरूको भविष्य नष्ट गर्नुमा पालिका प्रशासन प्रत्यक्ष दोषी ठहरिने चेतावनीसमेत दिएका छन्।