पर्सा । राष्ट्रिय धान दिवस , देशभर रोपाईंको उत्सवका रूपमा मनाइँदैछ । जनप्रतिनिधि, उच्चपदस्थ अधिकारीदेखि स्थानीय तहका नेतासम्म विभिन्न कार्यक्रम, फोटोशुट र भाषणमा व्यस्त छन् । तर, वास्तविक किसान भने खेतमा मलको जोहोमा भौतारिइरहेका छन् ।
देशका विभिन्न जिल्लाबाट किसानहरुले मल अभावका कारण समयमा रोपाईं गर्न नसकेको गुनासो गरेका छन् । कृषि फे डर र कृषि सहकारी संस्थामा धाऊँधाउ गर्दा पनि युरिया मल सहज रूपमा पाइँदैन । कतिपय स्थानमा त मलको कालोबजारी खुलेआम भइरहेको छ, तर प्रशासन मौन छ ।
पर्सा, बारालगायतका तराईका जिल्लामा असार महिनासम्म पनि किसानलाई पर्याप्त मल उपलब्ध हुन सकेको छैन । सरकारले मल आपूर्ति नियमित भइसकेको बताइरहँदा जमिनमा पसिना बगाइरहेका किसान भने बिउ छरिसकेपछि मल नपाएर चिन्तित छन् ।
‘धान दिवस त फोटो खिचाउनेको पर्व भयो, हामी किसानका लागि भने यो मल नपाएर पीडा भोग्ने दिन बनिसक्यो,’ पर्साका एक किसानको गुनासो छ ।
सरकारले हरेक वर्ष असार १५ लाई भव्य रूपमा मनाउँदै आए पनि वास्तविक समस्या समाधान गर्न भने चासो देखाएको छैन । किसानका समस्या बुझ्ने र समाधान गर्नेभन्दा प्रचारमुखी कार्यक्रममा जनप्रतिनिधिहरू रमाइरहेका छन् ।
धान उत्पादन वृद्धि, खाद्य सुरक्षाजस्ता नारामा भाषण गर्नेहरूलाई किसानको पीडा देखिने बेला कहिले आउला ?