वीरगञ्ज, पर्सा । नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ता, मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. चुमनलाल दास तथा लेखा अधिकृत अवधकिशोर चौधरीमाथि अस्पतालको बजेट, टेन्डर र कर्मचारी नियुक्तिमा संगठित रूपमा अनियमितता तथा आर्थिक भ्रष्टाचार गरेको गम्भीर आरोप लागेको छ।
अस्पताल स्रोतका अनुसार आर्थिक वर्ष २०८१/०८२ को अनुमानित आय–व्यय स्वीकृत नगरीकै अवस्थामा कार्य संचालन गरिएको छ। मेसु डा. दासले असोज १६ गते पदभार सम्हालेपछि अध्यक्ष गुप्तासँग मिलेर स्वीकृत प्रक्रिया बिना नै बजेट खर्च गर्न निर्देशन दिएका थिए। लेखा अधिकृत चौधरीले समेत सोही निर्देशन अनुसार लेखापरीक्षणको कुनै आधार नबनाई खर्च स्वीकृति दिँदै आएका छन्। यस कार्यले सार्वजनिक संस्थामा लागु हुने कानुनी व्यवस्था, पारदर्शिता र उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको छ।
त्यस्तै, अस्पतालको प्रस्तुति गृह मर्मतका लागि विनियोजित ५ करोड रुपैयाँ बराबरको टेन्डर प्रक्रियामा समेत मिलेमतो भएको ठोस प्रमाणहरू देखिएको बताइएको छ। लागत अनुमानको तुलनामा न्यूनतम १५ प्रतिशत बिलो हुनु पर्ने प्रावधानविपरीत काठमाडौंस्थित एक निर्माण कम्पनीलाई ९ प्रतिशत बिलोमा काम दिने निर्णय गरिएको छ। यस प्रक्रियामा मेसु, अध्यक्ष र लेखा अधिकृत बीच आपसी समझदारीमा टेन्डर म्यानिपुलेसन गरिएको आशंका गरिएको छ।
अत्यन्तै गम्भीर अर्को विषय भनेको कर्मचारी नियुक्ति प्रक्रिया हो। फार्मेसी अधिकृत पदको परीक्षामा प्रथम स्थान प्राप्त गरेका उम्मेदवार राकेश यादवको सट्टामा दोस्रो स्थानकी उम्मेदवार रुचि चौरसियालाई नियुक्त गरिएको देखिन्छ। रुचि संघीय कानुन मन्त्री अजय चौसरियाको आफन्त रहेको र मन्त्रीकै दबाबमा नियुक्ति गराइएको स्रोतको दाबी छ। त्यस्तै, सोही मन्त्रीको सिफारिसमा अध्यक्ष गुप्ताको नियुक्ति समेत भएको भन्ने आरोप पनि सार्वजनिक भएको छ।
यी सबै कार्यमा लेखा अधिकृत चौधरीको प्रत्यक्ष संलग्नता रहेको र उनले पारदर्शिताविना स्वेच्छाचारी खर्च स्वीकृत गर्दै आएका छन् भन्ने जनगुनासो अस्पतालका कर्मचारीहरूबाट खुलेरै सुनिन थालेको छ।
नारायणी अस्पतालजस्तो जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संस्थामा यस्ता गम्भीर भ्रष्टाचार, मिलेमतो र नातावादको अभ्यासले आम नागरिकको विश्वासमा गहिरो आघात पुर्याएको छ। यस विषयमा छानबिन गरि दोषीमाथि तत्काल कारबाही गर्नुपर्ने माग तीव्ररूपमा उठिरहेको छ।