वीरगञ्ज । पर्सा जिल्लाका अमोद केवटविरुद्ध तालिम कार्यक्रमको नाममा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी थालेको छ। केवटले पोखरिया नगरपालिका र बहुदरमाई नगरपालिकासँग मिलेमतो गरी चालु आर्थिक वर्ष २०८१/८२ मा विभिन्न झोले संस्थामार्फत रकम निकासा गराएको खुलासा भएको छ।
स्रोतका अनुसार, पोखरिया नगरपालिकाबाट करिब २ करोड रुपैयाँ र बहुदरमाई नगरपालिकाबाट १ करोड ६० लाख रुपैयाँ बराबरका जनचेतना तथा सीपमूलक तालिमका नाममा बजेट निकासा गरिएको छ। ती तालिमहरू वास्तविक रूपमा सञ्चालन नगरी कागजी प्रमाणहरू तयार पारेर रकम निकासा गरिएको आरोप लागेको छ।
कागज मिलाएर रकम निकासा, कमिसन खातामा
पोखरिया नगरपालिकाको विगतका तालिम कार्यक्रमका सहभागीहरूको नाम दोहोर्याई कागजी विवरण पेश गरी रकम निकालिएको प्रमाण फेला परेको छ। यस्तै, निलम्बित पोखरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवलाई लाखौं रुपैयाँ कमिसनस्वरूप दिएको प्रमाणसमेत सार्वजनिक भएको छ।
बहुदरमाई नगरपालिकामा वडा र नगरस्तरीय तालिमका नाममा देखाइएको १ करोड ६० लाख रुपैयाँमध्ये करिब ३५ लाख रुपैयाँ पहिले नै भुक्तानी भइसकेको जनाइएको छ।
प्रक्रिया बिनै झोले संस्थालाई काम
प्रचलित ऐन तथा कार्यविधिअनुसार, यस्ता तालिम कार्यक्रमहरू स्थानीय आवश्यकता मूल्याङ्कन, क्षेत्रगत सर्त, सहभागिता अभिलेख र संस्था छनोट प्रक्रिया पूरा गरेर मात्रै गर्नुपर्ने हुन्छ। तर, केवटले पालिकाका केही कर्मचारीहरूसँग मिलेर न्यून आर्थिक प्रस्ताव पेस गरी झोले संस्थामार्फत प्रक्रिया बेपत्ता पार्दै भ्रष्टाचार गरेको पाइएको छ।
उनले सञ्चालन गर्दै आएका पर्सा डेभलपमेन्ट प्रा.लि., विन्दवासिनी डेभलपमेन्ट एण्ड स्किल प्रा.लि., एग्रीकल्चर एण्ड स्किल डेभलपमेन्ट प्रा.लि., सामुदायिक सिकाइ केन्द्र प्रा.लि. र सूर्योदय तालिम केन्द्र जस्ता संस्थाहरूको वास्तविक गतिविधि न्यून देखिएको छ।
अवैध कमाइबाट रानीघाटमा आलिशान महल
स्थानीय स्रोतहरूका अनुसार अमोद केवटले पालिकाबाट कमाएको अवैध रकमको प्रयोग गरी वीरगञ्जको रानीघाट क्षेत्रमा आलिशान महल निर्माण गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको र आवश्यक प्रमाण संकलनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ।
यो प्रकरणले पर्सा जिल्लाका पालिकाहरूमा बढ्दो भ्रष्टाचार र गैरसरकारी संस्था मार्फत भइरहेको अनियमिततामाथि गम्भीर प्रश्न उठाएको छ।