वीरगञ्ज । मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले वीरगञ्जस्थित नारायणी रंगशालाको निर्माण कार्य सबैभन्दा पहिले र चाँडै सम्पन्न गरिने बताएका छन्।
उनका अनुसार रंगशालाको जीर्ण अवस्थालाई ध्यानमा राख्दै पटक–पटकको समन्वय र पहलमार्फत संघीय सरकारबाट ८ करोड रुपैयाँ र मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयबाट क्रिकेटको पूर्वाधार निर्माणका लागि थप १ करोड रुपैयाँ विनियोजन गरिएको छ। उक्त योजना बहुवर्षीय कार्य योजना अन्तर्गत लागू गरिएको हो, जसअनुसार रंगशालाको पूर्वाधार विस्तार तथा सुधार कार्य तीव्र रूपमा अगाडि बढाइनेछ।
मन्त्री जयसवालले जानकारी दिएअनुसार एउटै शीर्षकमा दुई तहका सरकारले बजेट विनियोजन गर्न नसकिने कानुनी व्यवस्थाका कारण संघीय सरकारले ८ करोड छुट्याएको हो, जुन रकम उनको सक्रिय पहल र समन्वयपछि प्राप्त भएको हो। उनले रंगशाला निर्माण कार्य चाँडै अगाडि बढ्ने र निर्धारित समयमै सम्पन्न गरिने प्रतिबद्धता जनाए।
उनले मधेस प्रदेशका आठवटै जिल्लामा रहेका जीर्ण अवस्थाका रंगशालाहरूको पनि सुधार र स्तरोन्नति गरिने स्पष्ट पारे। "खेल र खेलाडीप्रति मेरो समर्पण विगतदेखि नै रहेको छ," मन्त्री जयसवालले भने, "खेलाडी र आम जनताको आशा बोकेर हिँडेको छु, र त्यो अपेक्षा चाँडै पूरा गरिनेछ।"
विगत केही वर्षदेखि जीर्ण अवस्थामा रहेको नारायणी रंगशालालाई नयाँ स्वरूप दिनु आफूको प्राथमिकता भएको उल्लेख गर्दै मन्त्री जयसवालले भने, "सर्वप्रथम र चाँडै रंगशालाको काम सम्पन्न गरेर वीरगञ्जवासी जनतालाई खेलकुदको आधुनिक संरचना उपलब्ध गराउने मेरो अठोट छ।"
उनको यो अभिव्यक्ति मधेस प्रदेशमा खेल क्षेत्रको विकासप्रति प्रदेश सरकारको प्रतिबद्धता दर्शाउने महत्वपूर्ण संकेतको रूपमा हेरिएको छ।