पर्सा । वीरगञ्ज महानगरपालिकाभित्र विभिन्न स्थानहरूमा अवैध रूपमा ढाट राखी जबर्जस्ती रकम असुली भइरहेको तथ्य सार्वजनिक भएको छ। ड्राइपोर्ट क्षेत्रस्थित एकीकृत जाँच चौकी (आईसीपी) हुँदै भन्सार प्रक्रिया पूरा गरी भित्रिने भारतीय मालवाहक सवारी साधनहरूसँग अवैध असुली भइरहेको पाइएको हो।
स्थानीय स्रोतका अनुसार ती ढाटहरूमा मालवाहक गाडीका चालकहरूलाई प्रतिगाडी नेपाली २०० रुपैयाँको रसिद दिइने तर वास्तवमा २०० भारतीय रुपैयाँ असुल्ने गरिएको छ। यो प्रक्रियामा कुनै कानुनी आधार नभएको र सरासर गैरकानुनी ढंगले रकम असुल्ने काम भइरहेको बताइएको छ।
झन गम्भीर कुरा त के भने, ती ढाटहरूमा सुरक्षाका नाममा तैनाथ गरिएका बाउन्सरहरूले चालकहरूलाई धम्की दिने, कुटपिट गर्ने र बलपूर्वक पैसा उठाउने गरेको समेत प्रमाणहरू बाहिर आएका छन्।
स्थानीय व्यवसायी र चालकहरूले पटक–पटक यस्तो गैरकानुनी अभ्यासको विरोध गर्दै आए पनि सम्बन्धित निकायले कुनै ठोस पहल नगरेको गुनासो गरेका छन्। यस्तो कार्यले वीरगञ्जको छवि धुमिल हुने मात्र नभई भन्सार प्रणालीप्रति नै जनविश्वास कमजोर बनाउने चिन्ता सरोकारवालाहरूले व्यक्त गरेका छन्।
अवैध ढाट र असुलीविरुद्ध सम्बन्धित निकाय तथा सुरक्षाप्राधिकरणहरूले छानबिन गरी कारबाही अघि बढाउनु पर्ने जनआवश्यकता देखिएको छ।