पर्सा । पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिका पछिल्लो समय लागुऔषध कारोबारको अखडाजस्तै बन्दै गएको छ। गाउँपालिकाका विभिन्न वडामा बारम्बार गाँजा र अन्य लागूऔषधको बरामद हुनुका साथै केही व्यक्तिहरूको संलग्नता उजागर भइरहे पनि सुरक्षा निकायले यसलाई नियन्त्रण गर्न गम्भीरता नदेखाएको आरोप लाग्न थालेको छ।
आज मात्र इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको टोलीले वडा नं. २ सुर्जहाँस्थित परालभित्र लुकाएर राखिएको ४० केजी गाँजा बरामद गरेको छ।
यसअघि साउन ३१ गते पनि सोही स्थानबाट एक व्यक्तिको गोठ अगाडि त्रिपालभित्र लुकाई राखिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरीयाको संयुक्त टोलीले ११९ केजी गाँजा बरामद गरेको थियो। तर, प्रहरीको मिलेमतोमा सो घटनाको विवरण हालसम्म सार्वजनिक गरिएको थिएन, जसले प्रहरीमाथिको विश्वसनीयता थप कमजोर बनाएको छ।
त्यसैगरी वडा नं. १ धोरेस्थित सडक खण्डमा भेडिअर्वाबाट धोरेतर्फ शंकास्पद रूपमा हिँडिरहेका एक युवकलाई प्रहरीले पक्राउ गर्दा पनि ठूलो परिमाणमा लागूऔषध फेला परेको छ। पक्राउ पर्ने व्यक्ति वडा नं. २ मधुबनी बस्ने २२ वर्षीय दिलिप कुमार सहनी हुन्। उनको साथबाट आलु र प्याजको झोलाभित्र लुकाई राखिएको ४५० एम्पुल विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको छ।
यसरी पटक–पटक लागूऔषध बरामद हुँदै गइरहँदा पनि यस मामिलामा प्रशासनले दिगो र प्रभावकारी कारबाही नगरेको जनगुनासो तीव्र हुँदै गएको छ।
प्रहरीको मिलेमतोमा गाँजाको खेती र ढुवानी ?
पर्सा जिल्लामा गाँजाको खेतवारी छैन भन्ने सर्वविदित तथ्य हुँदाहुँदै पनि निरन्तर गाँजा बरामद भइरहँदा प्रश्न उठेको छ — गाँजा कहाँबाट आइरहेको हो? स्रोतहरूका अनुसार मकवानपुर जिल्लाको मनहरी क्षेत्रका जंगलपाखामा प्रति कठ्ठा ४ हजार रुपैयाँको दरले जग्गा भाडामा लिएर सुर्जहाँका केही व्यक्तिहरूले अवैध गाँजाको खेती गरिरहेका छन्।
त्यहाँ उत्पादन भएको गाँजा प्रहरीले आँखा चिम्लिएर हेर्दा हेर्दै पर्सा भित्र्याउने गरिएको छ। स्रोतको दाबी अनुसार बालुवा र गिटी ओसार्ने टिपर तथा पेय पदार्थ ढुवानी गर्ने गाडीहरू प्रयोग गरी गाँजा सजिलैसाथ पर्सा ल्याइन्छ। यो समग्र कारोबारी चक्रमा प्रहरी र स्थानीय प्रशासनकै मिलेमतो भएको आरोप पनि खुलेर लाग्न थालेको छ।
स्थानीयवासी त्रसित, प्रशासन मौन
पकहाँ मैनपुर गाउँपालिकाका स्थानीयवासीहरू गाउँले नै लागुऔषधको गोदाम बन्दै गएकोप्रति चिन्तित छन्। विद्यालय, स्वास्थ्य चौकी र ग्रामीण जीवन प्रभावित हुनेगरी लागुऔषध कारोबारले जरा गाड्न थालेको अवस्था देखिँदा, स्थानीयले प्रशासनसँग कडाइका लागि आग्रह गरिरहेका छन्।
तर दुर्भाग्य, प्रहरीले बारम्बारका बरामदलाई "साधारण घटना" को रूपमा मात्रै लिएर चलिरहेको छ। बरामदको सूचना गुपचुप राखिनु, पक्राउ परेका केही व्यक्तिलाई राजनीतिक संरक्षणमा छाडिनु, र गाँजाको खेतीसम्बन्धी अनुसन्धान नगर्नुले प्रहरीको भूमिका नै शंकाको घेरामा परेको छ।
यसरी सुसूचित रुपमा लागुऔषधको कारोबार बढ्दै जाँदा पर्सा प्रहरीले आफ्नो भूमिकामाथि पुनः सोच्ने बेला आएको छ। अब पनि प्रशासन मौन रह्यो भने पर्सा जिल्लाको सामाजिक ढाँचा र भविष्य अत्यन्तै भयावह बन्ने निश्चितप्रायः देखिन्छ।