पर्सा । बसपार्क प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) धीरेन्द्र थपलियाको सक्रिय नेतृत्वमा वीरगञ्ज बसपार्क क्षेत्रका विभिन्न पसलहरूमा गरिएको चेकजाँच अभियानका क्रममा करिब ८०० लिटर घरेलु मदिरा बरामद गरिएको छ।
प्राप्त जानकारी अनुसार अवैध रूपमा बिक्री वितरण हुँदै आएको घरेलु मदिरा नियन्त्रण गर्न प्रहरी टोलीले छापा मार्दै उक्त मदिरा बरामद गरेको हो। बरामद गरिएको मदिरा आज वडा नं १६ का वडा अध्यक्ष परशुराम चौरसियालगायत स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिमा बसपार्क प्रहरी चौकी परिसरमै सार्वजनिक रूपमा नष्ट गरिएको छ।
सई धीरेन्द्र थपलियाले अवैध मदिरा बिक्रीविरुद्ध निरन्तर अभियान चलाइने जनाउँदै स्थानीय तह, जनप्रतिनिधि र नागरिकको सहकार्यमा मात्र समाजमा शान्ति र सुरक्षाको वातावरण कायम गर्न सकिने धारणा व्यक्त गरे।
"जनस्वास्थ्य, शान्ति र सुरक्षामा असर पार्ने कुनै पनि गतिविधिमा हामी कडाइका साथ प्रस्तुत हुन्छौं," सई थपलियाले भने, "यस अभियानमा स्थानिय वडाअध्यक्षको साथ सहयोगले जनमैत्री प्रहरी कार्यशैलीलाई अझ मजबुत बनाएको छ।"
प्रहरीको यो कदमले बसपार्क क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउने दिशामा सकारात्मक सन्देश दिएको स्थानियवासीहरूले प्रतिक्रिया दिएका छन्।