वीरगञ्ज, पर्सा । वीरगञ्जस्थित सवारी तथा यातायात व्यवस्था कार्यालय फेरि एकपटक भ्रष्टाचार र अनियमितताको दलदलमा फसिएको छ । कार्यालयका केही कर्मचारीहरूले खुलेआम घुस असुली र बिचौलिया परिचालन गरी दैनिक लाखौं रुपैयाँ बराबरको अवैध रकम उठाउँदै आएको तथ्य सार्वजनिक भएको छ ।
प्राप्त प्रमाणहरूका अनुसार कर्मचारी चन्द्र प्रसाद पुरबे, गौरीशंकर माली (भगत), चन्द्रमा सिंह लगायतका समूहले कार्यालयभित्रै बिचौलियामार्फत सवारी दर्ता, नामसारी, ब्लुबुक नवीकरणदेखि लिएर विदेशी सवारी अनुमति पत्रसम्मका सबै सेवामा अनियमित कारोबार चलाउँदै आएका छन् ।
यातायात व्यवस्था कार्यविधि निर्देशिका २०७४ विपरीत, विभिन्न मोटरसाइकल कम्पनीका प्रतिनिधिहरूमार्फत सवारीधनीको उपस्थितिबिनै दैनिक ५०० भन्दा बढी नामसारी गर्ने गरिएको छ । प्रत्येक नामसारीमा रु. ८० असुली हुने हुँदा यसरी मात्रै दैनिक करिब रु. ४० हजारभन्दा बढी रकम उठाइने गरेको छ । त्यस्तै, भारतीय सवारी अनुमति पत्र (RTO) का नाममा पर्यटकहरूबाट पनि प्रतिपत्र रु. ५०० देखि २,००० सम्म अतिरिक्त रकम असुल्ने गरिएको पुष्टि भएको छ ।
सवारी धनी उपस्थित नभएका सवारीसाधनको नामसारीमा समेत ठूलो रकम लिएर बिचौलियामार्फत श्रेस्ता दर्ता सही–छाप दायाँ–बायाँ गर्ने प्रवृत्ति रहेको बताइएको छ । उदाहरणका रूपमा ना ३२ प ३३४५ नम्बरको मोटरसाइकलसहित अन्य कागजात सार्वजनिक सञ्चारमाध्यमसँग सुरक्षित रहेको छ ।
कार्यालय सहयोगी माली र सिंहले आफ्ना पाँच जना बिचौलियामार्फत सेवाग्राहीसँग प्रत्यक्ष रकम उठाउने व्यवस्था मिलाएका छन् । ती बिचौलियाहरू — अमर देव सोनल, ध्रुव पटेल, शिवशम्भु यादव, छोटेलाल यादव र सन्तोष कुमार गुप्ता — लाई कार्यालयभित्रै कुर्सी उपलब्ध गराइ खुलेआम रकम असुल्न लगाइन्छ । सेवाग्राहीहरूको उपस्थितिबिनै कागजातमा सही–छाप मिलाउने, मनपरी दर्ता गर्ने र पास गराउने कार्य दैनिकीझैँ बनेको छ ।
मासिक करिब ३० हजार तलब पाउने गौरीशंकर मालीले हेटौँडामा करोडौँ मूल्यको तीनतले घर, आधा दर्जनभन्दा बढी जग्गा, र महँगो जीवनशैली कायम राखेका छन् । उनका छोराहरू भारत र काठमाडौंमा अध्ययनरत छन्, जसको खर्च पनि अवैध आम्दानीबाटै धानिएको आशंका गरिएको छ ।
भुक्तभोगीहरूको भनाइमा, “माली र सिंहले ‘हाम्रो पहुँच मन्त्रालयसम्म छ, केही हुँदैन’ भन्दै धम्की दिने गर्छन्।”
कार्यालयमा प्रमुख अधिकृत प्रेम कार्की र नायब सुब्बा विप्लव भट्टराईजस्ता कर्मचारी भए पनि वास्तविक नियन्त्रण माली र सिंहकै हातमा रहेको देखिन्छ । बिचौलियाहरूका अनुसार, दैनिक असुलिएको रकमको अंश शाखा अधिकृत कार्कीलाई बुझाउने गरिएको छ ।
भुक्तभोगीहरूले खुलेआम घुस असुली र अनियमिततामा संलग्न कर्मचारीहरू विरुद्ध तत्काल कारबाहीको माग गरेका छन् । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागले तत्काल छानबिन गरी माली, सिंह, पुरबे, कार्की लगायतलाई पदमुक्त गर्न र कानूनी कारबाही अगाडि बढाउन माग गरेका छन् ।
अख्तियारको मौनताका कारण भ्रष्ट कर्मचारीहरू अझ बलियो बन्दै गइरहेको सेवाग्राहीहरूको आरोप छ । उनीहरूको भनाइमा — “सार्वजनिक सेवामा बसेर जनताको दुःखमा व्यापार गर्नेहरूलाई कडाभन्दा कडा सजाय नदिएसम्म यातायात कार्यालयभित्रको भ्रष्टाचार कहिल्यै अन्त्य हुने छैन।”