वीरगञ्ज । पछिल्ला दिनहरूमा पटक–पटक सञ्चारमाध्यममा भ्रष्टाचार र अनियमितताको समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आइतबार वीरगञ्जस्थित सवारी तथा यातायात व्यवस्था कार्यालय (सवारी शाखा) पर्साको छड्के अनुगमन गरेका छन् ।
२ दिनअघि मात्रै (शुक्रबार) जिल्ला प्रशासन कार्यालय पर्सामा हाजिर भएका प्रमुख जिल्ला अधिकारी दाहालले अनुगमनका क्रममा कार्यालयभित्रको कार्यशैली, सेवाग्राहीहरूको गुनासो र बिचौलियाहरूको गतिविधि प्रत्यक्ष अवलोकन गरेका हुन् ।
दाहाल कार्यालयमा प्रवेश गर्न लागेको खबर पाउनेबित्तिकै कार्यालय प्रमुख कुशेवार साहले मोटरसाइकल फाँट (कोठा नं. ६) मा रहेका पाँच जना बिचौलियाहरूलाई तत्काल बाहिर निकाल्ने आदेश दिएका थिए । ती बिचौलियाहरूलाई कार्यालय सहयोगी गौरीशंकर भगत माली र चन्द्रमा सिंह ले आफ्नो जिम्मेवारीमा रहेका कामकाज गर्नका लागि राखेका थिए ।
“छड्के अनुगमनको असर केही दिन मात्रै देखिने हो कि? बाहिर निकालिएका ती पाँच जना बिचौलियाहरूलाई फेरि कार्यालय सहयोगी माली र सिंहले भित्र्याउने त होइनन्?”
प्रमुख जिल्ला अधिकारी दाहालको छड्केले विगतका दिनमा भएको अनियमिता , सनाखत नामसारी , सनाखत दर्ता , सनाखत प्रतिलिपि , बिना बिमाको नवीकरण आदि जस्ता नियम विपरीत हुने कार्यहरूले रोकिने हो कि ?
यातायात व्यवस्था कार्यालय सवारी शाखामा लामो समयदेखि नै भ्रष्टाचार, घुस असुली र अनियमितताको केन्द्र बन्दै आएको छ । पछिल्लो अनुसन्धान र प्रमाणअनुसार, कार्यालयका केही कर्मचारीहरूले खुलेआम बिचौलियामार्फत अवैध कारोबार सञ्चालन गर्दै आएका छन् ।
प्राप्त सूचनाअनुसार कर्मचारी चन्द्र प्रसाद पुरबे, गौरीशंकर भगत माली र चन्द्रमा सिंह लगायतको समूहले सवारी दर्ता, नामसारी, ब्लुबुक नवीकरणदेखि लिएर विदेशी सवारी अनुमति पत्रसम्मका सबै सेवामा अवैध असुली गर्ने क्रम चलाउँदै आएका छन् ।
यातायात व्यवस्था कार्यविधि निर्देशिका २०७४ विपरीत, मोटरसाइकल कम्पनीका प्रतिनिधिहरूमार्फत सवारीधनीको उपस्थितिबिनै दैनिक ५०० भन्दा बढी नामसारी हुने गरेको छ । प्रत्येक नामसारीमा कम्तीमा रु. ८० असुलिने हुँदा यसरी मात्र दैनिक करिब रु. ४० हजारभन्दा बढी रकम उठाइने गरेको बताइएको छ ।
त्यस्तै, भारतीय सवारी अनुमति पत्र (RTO) का नाममा विदेशी पर्यटकहरूबाट पनि प्रतिपत्र प्रति रु. ५०० देखि २,००० सम्म अतिरिक्त रकम असुल्ने प्रमाणहरू पनि फेला परेका छन् ।
सवारीधनी स्वयं उपस्थित नभएका अवस्थामा समेत बिचौलियामार्फत कागजातमा सही–छाप मिलाउने, नामसारी गर्ने र दर्ता पास गराउने कार्य नियमित रूपमा हुने गरेको सेवाग्राहीहरूले बताएका छन् ।
उदाहरणका रूपमा ना ३२ प ३३४५ नम्बरको मोटरसाइकलसहितका कागजातहरू सञ्चारमाध्यमसँग सुरक्षित रहेको बताइएको छ ।
यामाहा, टिभिएस, बजाजजस्ता विभिन्न मोटरसाइकल कम्पनीहरूले बिक्री गरेका सवारीसाधनहरूमा क्रेताको प्रत्यक्ष उपस्थितिबिनै नामसारी हुने गरेको पुष्टि भएको छ, जुन कानुनी रूपमा पूर्णतः कानुन विपरीत छ ।
यसरी दैनिक ५०० भन्दा बढी नामसारीहरूबाट असुलिने रकमले कार्यालयभित्रको अवैध आम्दानीको परिमाण अत्यन्त ठूलो रहेको देखिन्छ ।