पर्सा । सामाजिक सञ्जालमा पछिल्ला दिनहरूमा ‘विद्यालयमा बूम आतंक’ भएको भन्दै प्रसारित भिडियोहरुले अभिभावक तथा सरोकारवालाबीच चर्को प्रतिक्रिया ल्याएको छ। भिडियोमा विद्यालयका बालबालिकाको तस्बिर तथा गतिविधि स्पष्ट देखिएको छ, जसले बालअधिकार तथा गोपनीयता संरक्षणप्रति गम्भीर प्रश्न उठाएको छ।
उक्त प्रकाशित भिडियोहरुमा केहि विद्यार्थीहरूलाई डर फैलिने गरी प्रस्तुत गरिएको देखिएको छ भने घटनासँग प्रत्यक्ष सम्बन्ध नहुँदा नहुँदै बालबालिकाको मुहार देखिने गरी प्रसारण गरिएको सामग्रीप्रति धेरै अभिभावक आक्रोशित बनेका छन्। उनीहरूका अनुसार यो प्रकारले तस्बिर प्रयोग गर्नुले बालबालिकामा मानसिक डर सिर्जना हुनसक्ने तथा व्यक्तिगत पहिचान जोखिममा पर्न सक्ने बताइएको छ।
बाल अधिकारकर्मीहरूले समेत कुनै पनि संवेदनशील सामग्रीमा बालबालिकाको तस्बिर, नाम वा पहिचान स्पष्ट देखिने गरी प्रसारण गर्नु अन्तर्राष्ट्रिय मान्यता तथा नेपालको बाल अधिकारसम्बन्धी कानुन विपरीत रहेको बताएका छन्। उनीहरूका अनुसार सार्वजनिक माध्यममा बच्चाहरूलाई ‘आतंक’, ‘जोखिम’ वा ‘नकारात्मक छवि’ मा चित्रण गर्नु नैतिक रूपमा पनि अस्वीकार्य छ।
अर्कातिर, मिडिया क्षेत्रका विज्ञहरूले सम्पादकीय सावधानी नअपनाई सामाजिक सञ्जालमा यस्ता भिडियोहरु प्रवाह गर्नु पत्रकारिता आचारसंहिताको गम्भीर उल्लङ्घन भएको टिप्पणी गरेका छन्। उनका अनुसार सार्वजनिक चासोका विषय प्रस्तुत गर्दा पनि बालबालिकाको गोपनीयता र मनोवैज्ञानिक सुरक्षालाई प्राथमिकता दिनुपर्ने सार्वभौमिक नियम हो।
यसैबीच अभिभावकहरूले सम्बन्धित निकायसँग यस विषयमा छानबिन गरी यस्ता सामग्री हटाउन तथा जिम्मेवार व्यक्ति वा संस्थामाथि उचित कारबाही गर्न माग गरेका छन्।