पर्सा । पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिका पछिल्लो समय लागुऔषध कारोबारको मुख्य अखडाजस्तै बन्न थालेको आरोप तीव्र बनेपछि लागूऔषधका कारोबारीहरू स्थान परिवर्तन गर्दै बिन्दबासिनी गाउँपालिका–५ का बटसौरा र भेलाहा क्षेत्रमा सक्रिय रहेको तथ्य उजागर हुँदै आएको छ। लगातार बरामद भइरहन थाले पनि सुरक्षा निकायले आवश्यक गम्भीरता नदेखाएको भन्दै स्थानीयवासी तथा स्रोतहरूले असन्तोष जनाएका छन्।
गएको बुधबार सशस्त्र प्रहरी बल नं. १३ गण, पर्साबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र प्रकाश मल्लको कमान्डमा खटिएको टोलीले बटसौरास्थित परालभित्र लुकाएर राखिएको करिब २१३ केजी गाँजा बरामद गरेको थियो। गाउँलेहरूले लागुऔषधको अवैध कारोबारबारे जिल्ला प्रहरी कार्यालयको सूचना शाखामा अनेकौं पटक खबर गरिए पनि कुनै प्रभावकारी कदम नचालेपछि सशस्त्र प्रहरीलाई आफूहरूले सीधै सूचना दिएको बताएको छ।
स्रोतका अनुसार बिन्दबासिनी–५ बटसौराका पटेल थरका एक व्यक्तिले प्रति गाडी २५–३० हजार रुपैयाँ लिई आफ्नो नेतृत्वमा गाँजा ओसार्ने कार्य सञ्चालन गर्दै आएका छन्। बरामद हुने थुप्रै गाँजा पकहाँमैनपुर–१ धोरेका मेहता थरका एक व्यक्तिको रहेको दाबी गरिएको छ।
लगातार बरामद भइरहे पनि प्रशासनले दिगो निगरानी, विस्तृत अनुसन्धान र संगठित कारबाही नगरेको गुनासो थप बलियो बन्दै गएको छ।
पर्सा जिल्लामा गाँजाको खेतवारी छैन भन्ने सर्वविदित तथ्य भए पनि लागुऔषध निरन्तर भित्रिनु प्रशासनकै मिलेमतोको सूचक भएको स्थानीयको आरोप छ। स्रोतको अनुसार मकवानपुर–मनहरी क्षेत्रका जंगल–पाखामा प्रति कठ्ठा ४ हजार रुपैयाँमा जग्गा भाडामा लिएर पकाहामैनपुर गाउँपालिका वडा नं १ धाेरे क्षेत्रका समूहहरूले अवैध रूपमा गाँजाको खेती गरिरहेका छन्।
त्यहाँ उत्पादन भएको गाँजा बालुवा, गिटी र पेय पदार्थ ढुवानी गर्ने गाडीमार्फत पर्सा भित्र्याइने गरेको तथा प्रहरीको मौनता र उदासीनताले यो चक्र सहज बनेको आरोप खुलेर लगिन थालेको छ।
पकहाँ मैनपुर गाउँपालिका र बिन्दबासिनी गाउँपालिका तथा आसपासका बस्तीका बासिन्दा गाउँ नै लागुऔषधको भण्डारणस्थलजस्तो बन्दै गएको देखेर त्रसित छन्। विद्यालय, स्वास्थ्यचौकी तथा ग्रामीण वातावरणमा यसको प्रत्यक्ष असर पर्न थालेपछि स्थानीयले सहजरूपमा माग गरेका कठोर कारबाही आजसम्म प्रभावकारी रूपमा देखिएको छैन।
बरामदका घटनालाई "सामान्य प्रक्रिया" भन्दै नजरअन्दाज गर्नु, पक्राउ परेकामध्ये केहीलाई राजनीतिक संरक्षणमा पुनः खुला छोडिनु, र गाँजाको खेती तथा स्रोतबारे अनुसन्धान नै नगर्नुले प्रहरीको भूमिकामाथि ठूलो प्रश्न उठेको छ।