वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत केही स्वास्थ्यकर्मी र चिकित्सकहरूले बिरामी तथा कुरुवालाई आफ्नै सम्बन्धित औषधी पसलबाट औषधी किन्न दवाब दिएको आरोप सार्वजनिक भएको छ । यसले सरकारी स्वास्थ्य सेवाप्रति जनविश्वासमा गम्भीर प्रश्न उठाएको छ ।
मेडिकल वार्डमा कार्यरत CMA हरिलाल गुप्ता, मनकलाल यादव लगायतले अस्पताल नजिकै रहेको आफ्नै औषधी पसलबाट औषधी किन्न बाध्य पार्ने गरेको बिरामीहरूले आरोप लगाएका छन् । उनीहरूले बाहिरका कुनै पनि मेडिकलबाट औषधी ल्याए उपचारमा असहयोग गर्ने चेतावनीसमेत दिने गरेको पीडितहरूको भनाइ छ।
उपचार गराइरहेका बिरामी राहुलका अनुसार, चिकित्सक तथा स्टाफहरूले “हामीले भनेको पसलबाट औषधी नल्याए उपचार हुँदैन” भन्दै दबाब दिने, डर देखाउने र उपचार रोक्ने धम्कीसम्म दिने गरेका छन् । यस्तो व्यवहारले आर्थिक रूपमा कमजोर बिरामीहरू विशेष रूपमा प्रभावित हुँदै आएको छ।
सरकारी अस्पतालका कर्मचारी स्वयंले उपचारलाई व्यापारिक स्वार्थसँग जोड्दै गरेको घटना अत्यन्तै निन्दनीय र गैरकानूनी रहेको स्वास्थ्य सरोकारवालाहरूको टिप्पणी छ। अस्पताल प्रशासन भने यस विषयमा मौन बस्दा प्रश्न झनै गहिरिँदै गएको छ।
यस विषयमा नारायणी अस्पताल वीरगञ्जका मेसु डा. चित्ररंजन साहले आफू यस घटनाबारे पूर्ण रूपमा जानकार रहेको स्वीकार्दै, यसअघि दुई पटक कारबाही गरिसकेको दाबी गरेका छन्। नियमित मेसु हुँदा पनि गुनासो आएपछि तत्काल अनुगमन गरी कारबाही गरेको उनले बताए। केही दिनअघि सम्बन्धित स्टाफहरूसँग स्पष्टीकरण समेत मागिएको उनले स्पष्ट पारे।
डा. साहले लगातार तेस्रो पटक उजुरी आएपछि भोलि बैठक बसेर आवश्यक, कडा र निर्णायक कारबाही गर्ने बताएका छन्।
यद्यपि, समस्या पटक–पटक उठिरहेकाले अस्पताल प्रशासनले प्रभावकारी समाधान नल्याएको, कार्यवाही सतही मात्रै भएको र विकृति दोहोरिनुको कारण प्रशासनिक कमजोरी नै भएको जनस्वास्थ्य विज्ञहरूको टिप्पणी छ।
स्थानीयवासी र बिरामी पक्षले यस्ता दवाब, धाकधम्की र विकृति अन्त्य गर्न तुरुन्तै ठोस कदम चाल्न र दोषीमाथि कठोर कारबाही गर्न अस्पताल प्रशासन तथा सम्बन्धित निकायलाई माग गरेका छन्।