पर्सा । बैंकिङ कसुरसम्बन्धी मुद्दामा पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा नेपाली कांग्रेसका नेता रामेश्वर महतो केवट पक्राउ परेका छन्। जनप्रतिनिधि स्वयं बैंकिङ कसुरजस्तो गम्भीर अभियोगमा मुछिनुले स्थानीय तहको सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वडा अध्यक्ष केवटलाई प्रहरी टोलीले उनको गाउँबाट नियन्त्रणमा लिएको थियो। पक्राउपछि सम्मानित पर्सा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो। प्रारम्भिक अनुसन्धानबाट वडा अध्यक्ष केवटविरुद्ध करिब एक लाख रुपैयाँ बराबरको बैंकिङ कसुर पुष्टि भएपछि उनीमाथि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको थियो।
तर, म्याद थप भएलगत्तै वडा अध्यक्ष केवटका आफन्तले पीडितको बैंक खातामा रकम जम्मा गरेपछि उनलाई हाजिर जमानीमा रिहा गरिएको प्रहरी स्रोतले जनाएको छ। रकम फिर्ता गरेपछि मात्र रिहा हुनु परेकाले कानुनभन्दा प्रभाव र पहुँच हाबी भएको आशंका स्थानीयवासीहरूले व्यक्त गरेका छन्।
जनताको सेवा र विश्वासको जिम्मेवारी बोकेका निर्वाचित प्रतिनिधि नै आर्थिक अनियमिततामा संलग्न भई पक्राउ पर्नु निन्दनीय भएको प्रतिक्रिया आउन थालेको छ। घटनाबारे थप अनुसन्धान कानुनी प्रावधानअनुसार जारी रहेको प्रहरीले जनाएको भए पनि जनप्रतिनिधिमाथि भएको यस्तो घटनाले स्थानीय सरकारप्रतिको भरोसा कमजोर बनाएको छ।