पर्सा । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा आयोजना गरिएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। प्रतियोगितामा माध्यमिक विद्यालय सन्थीले विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक पदक जिती उपाधि आफ्नो नाममा सुरक्षित गर्न सफल भएको छ।
प्रतियोगितामा माध्यमिक विद्यालय मसिहानीले दोस्रो स्थान हासिल गरेको छ भने माध्यमिक विद्यालय जगरनाथपुरले तेस्रो स्थानमा चित्त बुझाएको छ। सहभागी विद्यालयहरूको प्रतिस्पर्धाले स्थानीय खेलकुद विकासमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
समापन तथा पुरस्कार वितरण समारोह वडा नं. ५ का वडाध्यक्ष बिहारी महतो नूनियाको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्षको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख अशोक सिंह, पालिकाभित्रका सम्पूर्ण प्रधानाध्यापक, सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मी, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अवसरमा गाउँपालिकाभित्रका सबै प्रधानाध्यापकहरूलाई शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। साथै सांस्कृतिक कार्यक्रममा माध्यमिक विद्यालय मसिहानीका विद्यार्थीहरूले प्रस्तुत गरेको नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
प्रतियोगितामा विजयी खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गर्नुका साथै उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरूलाई राष्ट्रपति रनिङ शिल्ड हस्तान्तरण गरिएको थियो। यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउनुका साथै अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न मद्दत पुगेको सहभागीहरूको भनाइ रहेको छ।