काठमाडौं, भदौ १ । बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीहरूले विश्वासको मत लिने तयारी गरिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुवै प्रदेशमा तटस्थ रहने निर्णय गरेको छ।
राप्रपाले अर्को राजनीतिक निर्णय नभएसम्म बागमती र लुम्बिनी प्रदेश सभामा रहेका आफ्ना सांसदहरूलाई विश्वासको मतको पक्ष वा विपक्षमा मतदान नगरी तटस्थ बस्न संसदीय दलमार्फत निर्देशन दिएको जनाएको छ।
बागमती प्रदेशमा नेपाली कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल हो। नेकपा (माओवादी केन्द्र) का २६ र नेकपा (एमाले) का उपसभामुखसहित २५ सांसद छन्। राप्रपाका १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्। प्रदेशमा नयाँ सरकार गठन वा विश्वासको मतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ।
यस्तै, ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा चार सांसदले उम्मेदवारीका लागि राजीनामा दिएपछि हाल ८३ सदस्य कायम छन्। वर्तमान सदस्य संख्याअनुसार विश्वासको मत वा बहुमतका लागि ४२ सांसदको समर्थन आवश्यक हुन्छ।
लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले) का २९ र नेकपा (माओवादी केन्द्र) का सभामुखसहित १३ सांसद रहेका छन्।
राप्रपाको तटस्थ रहने निर्णयले दुवै प्रदेशमा विश्वासको मतको अंकगणित र सरकारको भविष्यलाई थप चासोको विषय बनाएको छ।