वीरगञ्ज । पर्सामा पछिल्लो समय ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद हुने क्रम बढिरहेको छ। प्रहरीले विभिन्न स्थानबाट पटक–पटक गाँजा बरामद गर्दै आएको भए पनि यसको संगठित कारोबारमा संलग्न मुख्य कारोबारी तथा तस्करीको सञ्जालसम्म प्रहरी पुग्न नसकेको देखिन्छ।
आइतबार राति मात्रै पर्साको जगरनाथपुर गाउँपालिका–४ बाट प्रहरीले २१२ किलो गाँजासहित मे १ त ५७१४ नम्बरको सोनालिका ट्याक्टर बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार पटेर्वा सुगौली गाउँपालिकाको सोनवर्षाबाट गाँजा लोड गरी भारततर्फ लैजान लागिएको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीलाई देखेपछि चालक तथा तस्करीमा संलग्न व्यक्तिहरू ट्याक्टर छाडेर फरार भएको बताइएको छ।
यो घटना पर्सामा गाँजा तस्करीको वास्तविक अवस्था र प्रहरी अनुसन्धानको प्रभावकारितामाथि फेरि प्रश्न उठाउने विषय बनेको छ।
पर्सामा कहिले बेवारिसे अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद हुने, कहिले गाँजा बोकेको सवारीसाधन मात्र नियन्त्रणमा पर्ने र कहिलेकाहीँ चालक पक्राउ पर्ने गरेका घटना सार्वजनिक हुँदै आएका छन्। तर गाँजा कारोबारको पछाडि रहेका लगानीकर्ता, संगठित कारोबारी तथा मुख्य तस्करी सञ्जालसम्म प्रहरी अनुसन्धान पुग्न नसकेको भन्दै प्रश्न उठ्न थालेको छ।
विशेषगरी ठूलो परिमाणमा गाँजा एउटा स्थानबाट अर्को स्थान हुँदै भारततर्फ लैजान खोजिएको अवस्थामा चालकले मात्रै कारोबार सञ्चालन गरेको पत्याउन कठिन हुन्छ। यस्तो कारोबारमा सामानको व्यवस्थापन गर्ने, ढुवानीको जिम्मा लिने, गन्तव्य तय गर्ने तथा सीमापारि समन्वय गर्ने व्यक्तिहरूको संलग्नता हुने सम्भावना रहन्छ। तर पटक–पटकका बरामदीपछि पनि अनुसन्धान प्रायः सवारीसाधन र चालकमा सीमित हुने गरेको देखिँदा प्रहरीको अनुसन्धान प्रणालीप्रति नै प्रश्न उठेको हो।
प्रहरी प्रशासनको उपस्थिति बाक्लो रहेको पर्सा जस्तो सीमावर्ती जिल्लामा ठूलो परिमाणको गाँजा पटक–पटक बरामद हुनु आफैंमा गम्भीर विषय हो। अझ त्यसमाथि तस्करीको प्रयासका क्रममा प्रयोग भएका सवारीसाधन नियन्त्रणमा परे पनि त्यसका सञ्चालक तथा मुख्य कारोबारी पहिचान हुन नसक्नुले प्रहरीको सूचना संयन्त्र, अनुसन्धान क्षमता र तस्करीको सञ्जालमाथिको निगरानी कत्तिको प्रभावकारी छ? भन्ने प्रश्न जन्माएको छ।
यदि प्रहरीले बरामद भएका गाँजाको स्रोत, सवारीसाधनको स्वामित्व, चालकको सम्पर्क सञ्जाल, मोबाइल तथा आर्थिक कारोबार र सीमापारिका सम्पर्कसम्म गहिरो अनुसन्धान गर्ने हो भने मुख्य कारोबारीसम्म पुग्न सकिने आधार देखिन्छ। तर हरेक पटक बरामदलाई मात्र उपलब्धिका रूपमा प्रस्तुत गरेर घटनाको पछाडिको सञ्जाल पहिचान नगर्ने हो भने गाँजा बरामद भइरहने तर कारोबारको जालो भने जस्ताको तस्तै रहने अवस्था आउन सक्छ।
यस विषयमा पर्सा प्रहरीसँग सर्वसाधारणको स्वाभाविक प्रश्न छ—यत्रो प्रहरी प्रशासन र सुरक्षा संयन्त्र हुँदाहुँदै पनि पर्सामा दिनहुँजसो ठूलो परिमाणमा गाँजा कसरी ओसारपसार भइरहेको छ? बरामद हुने गाँजा कहाँबाट आउँछ र कसले पठाउँछ? भारतसम्म पुर्याउने मुख्य कारोबारी को हुन्?
प्रहरीले अब सवारीसाधन र चालक पक्राउ वा गाँजा बरामदमा मात्रै अनुसन्धान सीमित नराखी मुख्य कारोबारी र संगठित सञ्जालसम्म पुग्ने गरी अनुसन्धान अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ। अन्यथा पर्सामा हुने गाँजा बरामदका घटना केवल तथ्यांक बढाउने काममा सीमित हुने र वास्तविक तस्कर भने प्रहरीको पहुँचभन्दा बाहिरै रहने अवस्था कायम रहनेछ।
यता पर्सा प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर मल्लले अनुसन्धानबाट खुल्न सक्ने जो कोभि भएपनि हामीले कारवाही गरिरहेको बताए । साथै मुख्य कारोबारीलाई समेत पक्राउ गरी मुदा प्रक्रिया अघि बढाएको उनले बताए।