काठमाडौं, भदौ १ । गृहमन्त्री सुधन गुरुङले चुनावी प्रतिबद्धता कार्यान्वयनबारे प्रश्न उठेपछि ‘चार महिनामा कायापलट सम्भव नभएको’ बताउँदै मतदातालाई पाँच वर्ष काम गर्ने अवसर दिन आग्रह गरेका छन्। उनको यही अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ।
गोरखाको शहीद लखन गाउँपालिका–९ मा आयोजित स्थानीयसँगको अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा गरेका वाचा र त्यसअनुसारको बजेटबारे स्थानीयले प्रश्न उठाएका थिए। उनीहरूका अनुसार निर्वाचनअघि गरिएका प्रतिबद्धता कार्यान्वयनको स्पष्ट आधार अझै देखिएको छैन।
जवाफमा गृहमन्त्री गुरुङले सरकारले पहिलो बजेट ल्याएको चार महिना मात्रै भएको उल्लेख गर्दै छोटो अवधिमा सबै क्षेत्रमा उल्लेखनीय परिवर्तन सम्भव नहुने बताए। उनले विकास योजनाहरू स्थानीय तहको प्राथमिकताका आधारमा अघि बढाइएको र सोहीअनुसार बजेट तथा कार्यक्रम कार्यान्वयन भइरहेको स्पष्ट पारे।
साना–साना योजनाका लागि छुट्टाछुट्टै बजेट विनियोजन गर्नुभन्दा समग्र योजनामार्फत काम अघि बढाउने नीति अपनाइएको उनको भनाइ थियो।
प्रश्नको जवाफ दिने क्रममा उनले भने, “चार महिनामा बल्ल पहिलो बजेट आएको छ। चार महिनामा कायापलट गर्न सकिँदैन। विश्वास छैन भने भोट फिर्ता लैजानुस्, होइन भने मलाई पाँच वर्ष काम गर्न दिनुस्।”
गुरुङले आफूले चुनावकै बेला मतदातासामु स्पष्ट धारणा राखेको स्मरण गर्दै विश्वास नभए आफूलाई निर्वाचित नगर्नसमेत आग्रह गरेको बताए। “चुनावका बेला पनि मैले विश्वास लाग्दैन भने मलाई नजिताउनुस् भनेको थिएँ,” उनले भने।
मन्त्री गुरुङको उक्त अभिव्यक्तिको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको पक्ष र विपक्षमा व्यापक प्रतिक्रिया आइरहेका छन्। कसैले यसलाई स्पष्ट र आत्मविश्वासी अभिव्यक्ति भनेका छन् भने कतिपयले जनप्रतिनिधिको जिम्मेवारीसँग मेल नखाने टिप्पणी गरेका छन्।