वीरगञ्ज । यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरणका क्रममा हुने अनियमितता र घुस लेनदेनका घटनाहरू नौला होइनन्। तर, बारा जिल्लाको यातायात व्यवस्था कार्यालय, कलैयामा पछिल्लो समय व्यापक आर्थिक चलखेल र संगठित भ्रष्टाचार भएको गम्भीर आरोप सार्वजनिक भएको छ।
यातायात व्यवस्था कार्यालय, कलैयाका प्रमुख अबिन्दर दास कार्यालयमा हाजिर भएदेखि नै लिखित तथा ट्रायल परीक्षामा अनुत्तीर्ण भएका सेवाग्राहीहरूलाई रकम असुली गरी उत्तीर्ण गराइरहेको आरोप लागेको छ। सेवाग्राही तथा स्रोतहरूका अनुसार दासले आफ्ना विश्वासपात्र र बिचौलियाहरू परिचालन गरी खुलेआम घुस उठाउने कार्य गर्दै आएका छन्। यस कारण कार्यालयमा ‘आर्थिक आतंक’ फैलिएको र सेवाग्राहीहरू आजित बनेको बताइन्छ।
दासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि माथिल्लो निकायसम्म आफ्नो पहुँच र सेटिङ रहेको भन्दै निर्भीक रूपमा अनियमितता गर्दै आएको आरोप छ। सेवाग्राहीका अनुसार मोटरसाइकल लाइसेन्सका लागि १० हजारदेखि १५ हजार, चार पाङ्ग्रे सवारीका लागि २० हजारदेखि ३० हजार तथा हेभी सवारी साधनका लागि ३० हजारदेखि ५० हजार रुपैयाँसम्म रकम लिई फेल भएकाहरूलाई पास गराइने गरेको छ।
स्रोतका अनुसार ट्रायल सेन्टरमा जडान गरिएका सिसिटिभी क्यामेराका रेकर्डिङसमेत आवश्यकताअनुसार सम्पादन गरी हटाइने गरिएको छ। पैसा बुझाएपछि कम्प्युटर प्रणालीमै पास देखिने गरी लाइसेन्स भेरिफिकेसन गरिने गरेको एक कर्मचारीले नाम नछाप्ने सर्तमा बताए।
स्कुटरदेखि ट्रक तथा विभिन्न मेसिनरी सवारी साधनसम्मका लाइसेन्स १० हजारदेखि ७० हजार रुपैयाँसम्ममा सेटिङमार्फत बिक्री भइरहेको आरोप छ। जे–१ एक्साभेटर, जे–२ ब्याकहो लोडर, जे–३ ग्रेडर, जे–४ फोर्कलिफ्ट, एच–१ डोजर, एच–२ रोड रोलर, आई–१ क्रेन, आई–२ फायर ब्रिगेड, ई–३ लोडरलगायतका मेसिनरी सवारीका ट्रायलमा समेत घुस संकलन भइरहेको स्रोतले जनाएको छ।
यस अवैध कारोबारमा कार्यालय प्रमुख दासका विश्वासपात्र ट्रायल प्रमुख, एक जना नेतासम्बद्ध व्यक्ति तथा दर्जनभन्दा बढी दलाल सक्रिय रहेको पीडितहरूको भनाइ छ। दासका विश्वासपात्र रघुनन्दन दासले मन्त्रालय, प्रहरी, नेता तथा पत्रकारसम्म मिलाउने काम गर्ने गरेको आरोपसमेत लागेको छ।
यसैगरी, ट्राफिक प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) किरण कार्की पनि यस अवैध धन्दामा संलग्न रहेको गम्भीर आरोप छ। उनी ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक **दीपक के.सी.**का विश्वासपात्र भएकाले ट्रायल सेन्टरमा उनको प्रभाव अत्यधिक रहेको बताइन्छ।
स्रोतका अनुसार सई कार्की जुनसुकै जिल्लामा सरुवा भए पनि सोर्स–फोर्सको बलमा ट्रायल सेन्टरमै बसेर आर्थिक लाभ लिँदै आएका छन्। उनी यसअघि पर्सा र रौतहट जिल्लाका ट्रायल सेन्टरमा रहँदा लाखौँ रुपैयाँ असुली गरेको आरोपपछि तत्कालीन मधेस प्रदेश प्रहरी प्रमुख वसन्त कुँवरले उनलाई मधेस प्रदेशबाट हटाएका थिए। तर, हाल पुनः बारा ट्रायल सेन्टरमा सक्रिय भएपछि अवैध कारोबार झन् खुलेआम भइरहेको कर्मचारीहरू बताउँछन्।
नाम नछाप्ने सर्तमा एक कर्मचारी भन्छन्, “यातायात कार्यालयमा प्रमुखपछि सबैभन्दा ठूलो प्रभाव सई कार्कीको छ। ट्रायल सेन्टरमा कसलाई पास गर्ने र कसलाई फेल गर्ने भन्ने निर्णय धेरै हदसम्म उनकै हातमा हुन्छ।”
सेवाग्राहीहरूले पास भइसकेकाहरूलाई समेत फेल गराई पुनः रकम असुल्ने गरिएको गुनासो गरेका छन्। लिखित तथा ट्रायल परीक्षामा ट्राफिक प्रहरीको अनिवार्य उपस्थिति हुने भएकाले उनीहरूको चाहनाविना कुनै काम अघि नबढ्ने आरोप छ। मधेस प्रदेश ट्राफिक प्रहरी नेतृत्व र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको मिलेमतोमा भ्रष्टाचार मौलाएको सेवाग्राहीहरूको भनाइ छ।
अन्य जिल्लामा लाइसेन्ससम्बन्धी प्रकरणमा अख्तियारले छानबिन गरे पनि यातायात व्यवस्था कार्यालय, कलैयाप्रति मौन बसेको आरोप लागेको छ। सेवाग्राहीहरूले तत्काल ‘स्टिङ अपरेसन’ सञ्चालन गर्न माग गरेका छन्।
गौरस्थित कार्यालयमा रहँदा पनि अनियमिततामा संलग्न रहेको आरोप खेप्दै आएका अबिन्दर दास अहिले बारामा पुनः विवादमा तानिएका छन्। नेपालीकरण प्रक्रियामा अनियमितता, कागजात नष्ट प्रकरण र निलम्बनसम्बन्धी उजुरीहरू समेत दाससँग जोडिएको बताइन्छ।
बाराको यातायात कार्यालयमा भइरहेको यो अव्यवस्था दीर्घकालसम्म लुक्न नसक्ने स्थानीयहरूको धारणा छ। कानूनी शासनको प्रत्याभूति र भ्रष्टाचारमुक्त प्रशासनका लागि तत्काल निष्पक्ष छानबिन र कडा कारबाही आवश्यक रहेको उनीहरूले बताएका छन्।
तीन जनाको अवैध लुटपाटको धन्दाविरुद्ध
पीडितहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी दिने तयारी गरेका छन्। अख्तियारको मधेस प्रदेश कार्यालयले यस विषयमा चासो नदिएको आरोपसमेत पीडितहरूले लगाएका छन्।
प्रतिक्रिया लिन यातायात व्यवस्था कार्यालय, कलैयाका प्रमुख अबिन्दर दाससँग सम्पर्क गर्न खोज्दा उनको फोन नम्बर कल फर्वार्ड भएको कारण सम्पर्क हुन सकेन।