वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्ला कमिटीका उपाध्यक्ष मनोज गुप्ताले जयप्रकाश थारुले पार्टी परित्याग गर्दै ‘पर्साबाट नेकपा एमाले सकियो’ भन्ने अभिव्यक्ति दिएको विषयमा प्रतिक्रिया जनाउँदै यसको वास्तविक मूल्यांकन समयले गर्ने बताएका छन्।
उपाध्यक्ष गुप्ताका अनुसार, पार्टी परित्याग गर्नु कुनै पनि नेताको व्यक्तिगत अधिकार भए पनि पार्टीमा रहँदा संगठनात्मक र संसदीय रूपमा प्राप्त सबै पद तथा जिम्मेवारी उपभोग गर्ने र पार्टी छाड्ने क्रममा नेतृत्वमाथि सार्वजनिक रूपमा गालीगलौज गर्नु दुःखद तथा अस्वीकार्य राजनीतिक प्रवृत्ति हो।
जयप्रकाश थारु पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट दुई पटक संविधान सभा सदस्यको उम्मेदवार बनेका थिए, जसमा एक पटक निर्वाचितसमेत भएका थिए। नेकपा एमालेले उनलाई पर्सा जिल्ला अध्यक्षको जिम्मेवारी दिएको थियो भने त्यसपछि मधेश प्रदेश कमिटीको सचिवालय सदस्यसम्म बनाएको थियो। यति धेरै सम्मान, अवसर र जिम्मेवारी दिँदासमेत पार्टीप्रति सन्तुष्टि नदेखिनु दुर्भाग्यपूर्ण रहेको गुप्ताको भनाइ छ।
उनका अनुसार, पछिल्लो करिब २० वर्षयता थारुको राजनीतिक प्रभाव पर्सा क्षेत्र नम्बर ४ मा केही नातेदार तथा सीमित जातीय समुदायमा मात्र केन्द्रित थियो। त्यसका बाबजुद पनि पार्टीले निरन्तर विश्वास गर्दै जिम्मेवारी दिँदै आएको थियो।
उपाध्यक्ष गुप्ताले जयप्रकाश थारुको बहिर्गमनले नेकपा एमाले पर्सा कमजोर नहुने स्पष्ट पार्दै पार्टी संगठन अझ सुदृढ र जनआधार विस्तारको दिशामा अघि बढिरहेको बताए। “व्यक्ति आउँछन् र जान्छन्, तर एमालेको विचार, संगठन र जनसमर्थन स्थायी छ,” उनले भने।
जयप्रकाश थारु यसअघि नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य थिए। उनको पार्टी परित्यागपछि पर्सा जिल्लाको राजनीतिक गतिविधि थप चासोको विषय बनेको छ।