पर्सा । पकहाँमैनपुर गाउँपालिका–३ स्थित श्रीराम चरित्र भगत माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति नहुँदा प्रधानाध्यापक मनोज यादवले लामो समयदेखि मनोमानी ढङ्गले विद्यालय सञ्चालन गर्दै आएको गम्भीर आरोप लागेको छ । स्थानीयवासी, शिक्षक तथा अभिभावकहरूले प्रधानाध्यापक यादवमाथि आर्थिक अनियमितता, प्रशासनिक दुरुपयोग र शैक्षिक लापरबाही गरेको गुनासो गरेका छन् ।
स्रोतका अनुसार व्यवस्थापन समिति नहुँदा परीक्षा शुल्क, शिक्षक पारिश्रमिक, तालिम, पुस्तकालय, भवन मर्मत तथा अन्य शीर्षकमा आएको बजेट पारदर्शी रूपमा खर्च नभएको आरोप छ । १०+२ तहमा नियमित कक्षा सञ्चालन नगरी शिक्षकलाई पारिश्रमिक दिएको, पुस्तकालय तथा प्राविधिक कक्षा सञ्चालनका नाममा लाखौँ रुपैयाँ अनियमित रूपमा खर्च गरिएको दाबी गरिएको छ । विद्यालयको धानबाली, जग्गामा रहेका रुख तथा पुरानो भवनको सामग्रीसमेत अपचलन गरिएको आशंका स्थानीयहरूले व्यक्त गरेका छन् ।
स्थानीयवासीका अनुसार प्रधानाध्यापक यादवलाई पालिका अध्यक्ष सुरेश मेहता र शिक्षा शाखा प्रमुख संजय चौहानको संरक्षण प्राप्त रहेको भन्दै उनीमाथि कारबाही वा सरुवा प्रक्रिया अघि बढ्न नसकेको गुनासो छ । पालिकास्तरमा पटक–पटक सरुवा र छानबिनको कुरा उठे पनि राजनीतिक र प्रशासनिक दबाबका कारण प्रक्रिया रोकिएको आरोप जनाइएको छ ।
विद्यालयमा शिक्षकहरूको हाजिरी, कक्षा शिक्षण र अनुशासनमा गम्भीर कमजोरी देखिएको विद्यार्थी तथा अभिभावकहरूको भनाइ छ । पढाइको गुणस्तर खस्कँदै गएको, शैक्षिक वातावरण बिग्रिएको र विद्यालयप्रति विश्वास घट्दै गएको उनीहरूको गुनासो छ ।
यता विद्यालय व्यवस्थापन समिति गठन गर्ने प्रयाससमेत विवादका कारण अल्झिएको छ । स्रोतका अनुसार आफूनिकट व्यक्तिलाई पदमा राख्ने विषयमा सहमति नजुट्दा समिति गठन प्रक्रिया स्थगित भएको हो । यसले विद्यालयलाई अझै लामो समयसम्म अनुगमन र जवाफदेहिताविहीन अवस्थामा राख्ने खतरा बढाएको स्थानीयहरूको भनाइ छ ।
स्थानीय युवा समूह, अभिभावक तथा सरोकारवालाले तत्काल छानबिन समिति गठन गरी विद्यालयको वित्तीय विवरण सार्वजनिक गर्न, अनियमितता पुष्टि भए कानुनी कारबाही गर्न र शीघ्र विद्यालय व्यवस्थापन समिति गठन गर्न माग गरेका छन् ।
यस विषयमा प्रधानाध्यापक मनोज यादवले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् भने पालिका अध्यक्ष र शिक्षा शाखा प्रमुखको तर्फबाट स्पष्ट प्रतिक्रिया आउन सकेको छैन । शिक्षा शाखाले भने विवाद समाधानको प्रयास भइरहेको र छिट्टै निष्कर्ष निकालिने जनाएको छ ।