वीरगन्ज । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेले पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ। जिल्ला कमिटीबाट आएका सिफारिसलाई मधेस प्रदेश कमिटीले राय–सुझावसहित केन्द्रीय कार्यालयमा पठाइसकेको छ। उम्मेदवारको अन्तिम निर्णय पार्टी केन्द्रीय नेतृत्वले गर्नेछ।
एमालेले पर्सा क्षेत्र नं. २ र क्षेत्र नं. ३ बाट पूर्व मन्त्री तथा निवर्तमान सांसद राजकुमार गुप्ताको नाम सिफारिस गरेसँगै क्षेत्रका नेता तथा कार्यकर्ताले यसलाई सकारात्मक रूपमा स्वागत गरेका छन्। दुईवटै निर्वाचन क्षेत्रबाट उनको नाम सिफारिस हुनु पार्टीप्रति उनको निरन्तर योगदान, संगठनप्रतिको प्रतिबद्धता र जनस्तरमा रहेको प्रभावको मूल्यांकन भएको उनीहरूको बुझाइ छ।
क्षेत्रका एक नेता अनुसार, “राजकुमार गुप्ता जनतासँग निरन्तर सम्पर्कमा रहने, समस्या सुन्ने र समाधानका लागि पहल गर्ने नेता हुनुहुन्छ। पार्टी र जनताको हितका विषयमा उहाँ सधैं अग्रपंक्तिमा रहनुभएको छ।”
यस्तै एक कार्यकर्ताले भने, “उहाँको नेतृत्वमा पार्टी संगठन मजबुत बनेको छ। विकास, रोजगारी र सुशासनका विषय संसदमा उठाउने क्षमता भएको नेता भएकाले दुई क्षेत्रबाट सिफारिस हुनु स्वाभाविक हो।”
नेता–कार्यकर्ताले राजकुमार गुप्ताको अनुभव र सक्रियताले आगामी निर्वाचनमा पार्टीलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार पार्टीले जिम्मेवारी दिएमा पर्साको समग्र विकास र जनताको आवाज संसदमा अझ प्रभावकारी रूपमा उठ्ने अपेक्षा गरिएको छ।
पर्सा जिल्लामा एमालेले क्षेत्र नं. १ बाट प्रभु हजारा, नवराज शर्मा, इन्दु घिमिरे र सुन्दरप्रसाद कुर्मी, क्षेत्र नं. २ बाट राजकुमार गुप्ता र अरविन्द सिंह, क्षेत्र नं. ३ बाट राजकुमार गुप्ता र प्रमोद जयसवाल , क्षेत्र नं. ४ बाट जालिम मिया, वीरेन्द्रप्रसाद यादव र गोकली कुमारी रेग्मीको नाम सिफारिस गरेको छ।
प्रदेश कमिटीका अनुसार सबै सिफारिस नाम केन्द्रीय कार्यालयमा पठाइसकिएको छ भने उम्मेदवारको अन्तिम निर्णय पार्टी केन्द्रीय नेतृत्वले गर्ने जनाएको छ।