पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा भएको सामान्य पार्किङ विवाद उग्र बन्दै सम्पूर्ण सहरमा कर्फ्यु जारी भएपछि सुरक्षा संयन्त्रको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। घटनापछि प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रहरी उपरीक्षक नरेश राज सुवेदी को कार्यशैलीप्रति आलोचना बढेको छ।
स्थानीयका अनुसार मोटरसाइकल पार्किङको विषयलाई लिएर सुरु भएको सामान्य भनाभन केही व्यक्तिको बदमासीका कारण झडपमा परिणत भएको थियो। प्रारम्भिक अवस्थामै विवाद नियन्त्रण गर्न सकिने सम्भावना हुँदाहुँदै सुरक्षा निकाय प्रभावकारी रूपमा परिचालित हुन नसक्दा स्थिति नियन्त्रणबाहिर गएको आरोप लगाइएको छ।
स्थिति थप तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्युका कारण सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ। बजार, शैक्षिक संस्था र यातायात सेवा ठप्प जस्तै बनेका छन्।
स्थानीयवासीको भनाइमा सुरक्षाको जिम्मेवारी लिने निकायले स–साना विवाद समयमै टुंग्याउन नसक्दा सिंगो सहरले मूल्य चुकाउनुपरेको छ। “एउटा बस्तीमा दुई जनाको बदमासीका कारण पूरै वीरगञ्जलाई कर्फ्युमा राख्नु प्रशासनिक असफलता हो,” एक स्थानीयले आक्रोश व्यक्त गरे।
यता प्रमुख जिल्ला अधिकारी दाहाल र प्रहरी उपरीक्षक सुवेदीले भने शान्ति–सुरक्षा कायम राख्न कर्फ्यु आवश्यक भएको दाबी गरेका छन्। आगामी निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा बनाइएको प्रशासनको भनाइ रहे पनि सामान्य विवादसमेत समयमै नियन्त्रण गर्न नसकिएको भन्दै सुरक्षा संयन्त्रको तयारी र विश्वसनीयतामाथि प्रश्न उठ्न थालेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रशासनले सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति कायम राख्न सहयोग गर्न अनुरोध गरेको छ।