पकाहाँमैनपुर । पर्साको पकाहाँ मैनपुर गाउँपालिकामा गाउँ प्रहरी भर्ना गर्ने विषयले गम्भीर विवाद निम्त्याएको छ। गाउँपालिका अध्यक्ष सुरेश मेहताको अध्यक्षतामा बसेको बैठक अन्ततः गाउँ प्रहरी नियुक्ति नगर्ने निर्णयसहित स्थगित भएको छ।
बैठकमा अध्यक्ष मेहताले गाउँ प्रहरी भर्ना प्रक्रिया अगाडि बढाउने प्रस्ताव राखेपछि पाँचै वटा वडाका अध्यक्षहरूले कडा असहमति जनाएका थिए। वडा नं. १ का विनोद मेहता, वडा नं. २ का मुकुट चौहान, वडा नं. ३ का सञ्जय चौहान, वडा नं. ४ का ढेरी यादव र वडा नं. ५ का बलिराम चौरसियाले स्पष्ट रूपमा नियुक्ति नगर्ने अडान लिएपछि बैठक स्थगित गरिएको हो।
बैठक स्थगित भएसँगै स्थिति झन् तनावपूर्ण बनेको बताइएको छ। स्रोतका अनुसार बैठकबाट बाहिरिएलगत्तै अध्यक्ष मेहता, उपाध्यक्ष सर्फुन नेशा तथा उनका श्रीमान् नर्शुल्हा मियाँसहित अध्यक्ष निकटका केही व्यक्तिहरूले प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहलाई कार्यालयमै रोकी जबरजस्ती नियुक्ति प्रक्रिया अगाडि बढाउन दबाब दिएका थिए। यसैबीच, गाउँ प्रहरी भर्नाको नाममा आर्थिक अनियमितता भएको गम्भीर आरोप पनि सार्वजनिक भएको छ।
एक जना वडा अध्यक्षका अनुसार अध्यक्ष मेहता निकटका व्यक्तिहरूले गाउँ प्रहरीमा नियुक्ति गराइदिने आश्वासन दिँदै प्रति व्यक्ति १ देखि २ लाख रुपैयाँसम्म उठाइसकेका छन्। रकम बुझाएका व्यक्तिहरूले आफूहरूको नियुक्ति कहिले हुने भन्दै दबाब बढाइरहेको जनाइएको छ।यही दबाबका कारण अध्यक्ष मेहताले बैठकमार्फत प्रक्रिया अघि बढाउन खोजे पनि वडा अध्यक्षहरूको कडा विरोधका कारण योजना असफल भएको बताइएको छ।
घटनाबारे प्रतिक्रिया लिन खोज्दा गाउँपालिका अध्यक्ष मेहताले पछि कुरा गर्ने भन्दै सम्पर्क टारेका छन् भने प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले पनि विस्तृत जानकारी दिन आनाकानी गरेका छन्। गाउँ प्रहरी भर्ना प्रकरणले पकाहाँ मैनपुर गाउँपालिकामा नेतृत्वको पारदर्शिता र नीतिगत निर्णयप्रति गम्भीर प्रश्न उठाएको छ।