पर्सा । श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा नेपाल सरकारको प्रचलित ऐनविपरीत विद्यार्थीबाट परीक्षा तथा रजिष्ट्रेशन शुल्क असुली गरिएको गम्भीर आरोप सार्वजनिक भएको छ। कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने सरकारी प्रावधान हुँदाहुँदै विद्यालय प्रशासनले नियम उल्लंघन गर्दै विद्यार्थीसँग जबर्जस्ती शुल्क उठाएको पाइएको छ।
विद्यालयका प्रधानाध्यापक पप्पु चौहानको निर्देशनमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूबाट परीक्षा शुल्क तथा रजिष्ट्रेशन फारम शुल्कको नाममा प्रति विद्यार्थी १,४०० रुपैयाँका दरले रकम संकलन गरिएको जनाइएको छ।
प्राप्त विवरणअनुसार, कक्षा ११ का ६३ जना विद्यार्थीमध्ये २६ जनाबाट १,४०० रुपैयाँका दरले जम्मा ३६,४०० रुपैयाँ विद्यालयको खातामा राखिएको छ। साथै, ७ जना विद्यार्थीबाट उठाइएको ९,८०० रुपैयाँ भने विद्यालयका लेखापाल तेजप्रताप चौहानले व्यक्तिगत रूपमा राखेको आरोप छ।
घटना सार्वजनिक भएपछि स्थानीय समाजसेवी तथा अभिभावकहरूले चासो व्यक्त गरेका छन्। सोधपुछका क्रममा ६३ जना विद्यार्थीमध्ये ३० जनासँग भने कुनै शुल्क नलिइएको तथ्यसमेत बाहिर आएको छ, जसले असुली प्रक्रियामा असमानता र अनियमितता देखिएको संकेत गर्दछ।
त्यस्तै, कक्षा १२ मा अध्ययनरत ८६ जना विद्यार्थीबाट पनि निर्धारित शुल्कभन्दा बढी रकम असुल गरिएको पाइएको छ। नियमअनुसार रजिष्ट्रेशन फारमबापत ८०० रुपैयाँ मात्र लिनुपर्नेमा १,४०० रुपैयाँका दरले रकम उठाइएको छ। यसरी ६८,८०० रुपैयाँ उठ्नुपर्ने ठाउँमा १,२०,४०० रुपैयाँ संकलन गरिएको छ, जसमा ५१,६०० रुपैयाँ बढी असुल गरिएको देखिन्छ। उक्त अतिरिक्त रकमको अवस्थाबारे हालसम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन।
विद्यालयका एक शिक्षकले नाम नखुलाउने सर्तमा अतिरिक्त शुल्क संकलन गरी आन्तरिक रूपमा भागबण्डा गर्ने गरिएको आरोपसमेत लगाएका छन्।
यस विषयमा प्रधानाध्यापक पप्पु चौहानसँग प्रतिक्रिया लिँदा उनले उठाइएको अतिरिक्त रकम पछि बैठकमार्फत फिर्ता गर्ने वा अन्य शुल्कमा समायोजन गरिने बताएका छन्। तथापि, यस प्रकारको कार्यले शिक्षा क्षेत्रमा गम्भीर प्रश्न उठाएको छ र सम्बन्धित निकायको ध्यानाकर्षण आवश्यक देखिएको छ।