वीरगञ्ज । नारायणी अस्पताल मा पछिल्लो समय देखिएका कमी–कमजोरी सार्वजनिक भएपछि अस्पताल प्रशासनमाथि मिडियामाथि अंकुश लगाउने प्रयास गरेको आरोप लागेको छ।
अस्पतालभित्र सेवा प्रवाहमा देखिएका त्रुटिहरू सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत बाहिरिन थालेपछि कारवाही हुने डरले यस्तो निर्णय गरिएको स्रोतको दाबी छ। नाम नखुलाउने शर्तमा एक कर्मचारीले बताएअनुसार, “अस्पतालभित्रका कमजोरीहरू सार्वजनिक हुन थालेपछि प्रशासन दबाबमा आएको छ, त्यसैले मिडियालाई नियन्त्रण गर्न खोजिएको हो।”
यसैबीच, बालेन्द्र शाह (बालेन) ले सरकारी निकायहरूमा देखिएका कमजोरी सुधार नगरे ‘राइट टु रिकोल’जस्ता कारवाही अगाडि बढाउने चेतावनी दिएपछि सम्बन्धित निकायहरूमा त्रास फैलिएको बताइन्छ। सोही पृष्ठभूमिमा आफ्ना कमजोरी लुकाउन अस्पताल प्रशासनले यस्तो कदम चालेको आरोप समेत लगाइएको छ।
यद्यपि, अस्पताल प्रशासनले भने सेवा प्रवाहलाई व्यवस्थित बनाउन र अनुशासन कायम राख्न यस्तो निर्णय गरिएको दाबी गरेको छ। तर स्थानीय तथा सेवाग्राहीहरूले भने यसलाई पारदर्शितामाथि प्रहारका रूपमा लिएका छन्।
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा पारदर्शिता र उत्तरदायित्व अपरिहार्य हुने भएकाले यस्ता कदमले थप प्रश्न उठाएको छ। सम्बन्धित निकायले यथाशीघ्र स्पष्टता दिनुपर्ने माग बढ्दो छ।