जनकपुरधाम । मधेश प्रदेशमा बर्सेनि सडक दुर्घटना बढ्दै जाँदा ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षामा चुनौती थपिएको छ । सवारीसाधनको बढ्दो चाप, तीव्र सहरीकरण, सडक सञ्जाल विस्तार तथा ट्राफिक नियमको पालना कमजोर हुुनु मधेशको सडक सुरक्षामा थप चुनौती बनेको हो ।
मधेश प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो पाँच वर्षको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ देखि आव २०८१/८२ सम्म प्रदेशभर २९ हजार १८३ सडक दुर्घटना भएका छन् । यी दुर्घटनामा दुई हजार ७४८ जनाले ज्यान गुमाएका छन् भने १० हजार ८६६ जना गम्भीर र ३६ हजार ४४२ जना सामान्य घाइते भएका छन् । तथ्याङ्कले मधेश प्रदेशमा औसत रूपमा हरेक दिन करिब १२ वटा सडक दुर्घटना हुने र प्रत्येक दुई दिनमा कम्तीमा एक जनाभन्दा बढी व्यक्तिले ज्यान गुमाउने अवस्था रहेको देखाएको छ ।
गत वर्षको तुलनामा यस वर्ष २३ प्रतिशतले दुर्घटना बढेको तथ्याङ्कमा उल्लेख छ । आव २०८१÷८२ मा सात हजार ४८३ दुर्घटना, आव २०८०/८१ मा छ हजार ५८, आव २०७९/८० मा पाँच हजार ९५८ वटा दुर्घटना भएको छ । आव २०७८÷७९ मा पाँच हजार ७११ र आव २०७७/७८ मा तीन हजार ९८३ दुर्घटना भएका छन् ।
तथ्याङ्कले प्रदेशमा हरेक वर्ष दुर्घटनाको सङ्ख्या बढ्दै गएको सङ्केत गरेको छ । बढ्दो सवारी चापसँगै प्रभावकारी ट्राफिक व्यवस्थापन, सडक सुरक्षा र जनचेतना अभिवृद्धिको आवश्यकता झन् बढेको सरोकारवाला बताउँछन् ।
जिल्लागत अवस्था
धनुषा जिल्लामा सबैभन्दा बढी दुर्घटना भएको छ । धनुषामा पछिल्लो पाँच वर्षमा चार हजार ८६८ दुर्घटना हुँदा ४२८ जनाले ज्यान गुमाएका छन् । बारामा चार हजार ४६८ दुर्घटना हुँदा ४१६ जनाको मृत्यु, सर्लाहीमा चार हजार ७२ दुर्घटनामा ३३६ जनाको मृत्यु भएको छ । सप्तरीमा तीन हजार ७२० दुर्घटना हुँदा ३८३ जनाको मृत्यु, सिराहामा तीन हजार ५२६ दुर्घटना हुँदा ३७९ जनाको मृत्यु, रौतहटमा तीन हजार ४०३ दुर्घटना हुँदा तीन सय जनाको मृत्यु, महोत्तरीमा तीन हजार ९१ दुर्घटनामा २९८ मृत्यु भएको छ । तुलनात्मक रूपमा सबैभन्दा कम दुर्घटना हुने आर्थिक राजधानीसमेत रहेको पर्सा जिल्लाको तथ्याङ्कले देखाएको छ । पर्सामा दुई हजार ३५ दुर्घटना हुँदा २०८ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी दुर्घटना मोटरसाइकल
मधेश प्रदेशमा सडक दुर्घटनामा संलग्न प्रमुख सवारीसाधनमध्ये मोटरसाइकल सबैभन्दा अगाडि छ । पछिल्लो पाँच वर्षको तथ्याङ्क अनुसार प्रदेशमा मोटरसाइकलबाट हुने दुर्घटना २८ हजार २७ पुगेको छ । सडक सुरक्षासम्बन्धी मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओम अधिकारीले प्रदेशको जनसङ्ख्या वृद्धि, सवारीसाधनको विस्तार र सडक प्रयोगकर्ताको बढ्दो सङ्ख्याले ट्राफिक व्यवस्थापनलाई जटिल बनाएको बताउनुभयो ।
उहाँले दुर्घटनाको बढ्दो ग्राफले मधेशमा ट्राफिक व्यवस्थापनलाई केवल प्रहरीको जिम्मेवारी मात्र नभई सरकार, स्थानीय तह र नागरिकको साझा सरोकारको विषय बनाएको उल्लेख गर्नुभयो । तीव्र गति, मादक पदार्थ सेवनलगायतका समस्यासँगै अव्यवस्थित सडक संरचनाले पनि जोखिम बढाएको उहाँले बताउनुभयो । नेपाल सडक सुरक्षा कार्ययोजनामा सन् २०३० सम्ममा सडक दुर्घटना ५० प्रतिशत न्यूनीकरण गर्ने लक्ष्य रहेको छ । सन् २०५० सम्ममा सडक दुर्घटनाबाट हुने मृत्युलाई शून्यमा ल्याउने योजना छ ।
सम्भार : गोरखापत्र अनलाइन