जनकपुरधाम — मिटरब्याज पीडितहरूको प्रदर्शनका क्रममा आज धनुषा जिल्ला अदालत अगाडि एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्।
जनकपुरधाम–४ निवासी फुलकुमारी रजकले आत्मदाहको प्रयास गरेपछि प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगेको छ।
रजकसहित अन्य मिटरब्याज पीडितहरू करिब एक महिनादेखि आन्दोलनरत छन्। उनीहरूले अनुचित लेनदेनको मुद्दामा प्रहरी हिरासतमा रहेका हरेराम साह, रेखा साह र गोपाल साह तथा फरार रहेका बलराम साहले संगठित रूपमा आफ्नो जग्गा पचाएको आरोप लगाउँदै जग्गा फिर्ता गरिनुपर्ने माग राख्दै आएका छन्।
पीडितहरूले प्रहरीले अनुसन्धानका लागि पर्याप्त समय पाउनुपर्ने, फरार रहेका बलराम साहलाई तत्काल पक्राउ गर्नुपर्ने र दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।
पीडितहरूका अनुसार यस विषयमा उनीहरूले यसअघि नै सम्बन्धित व्यक्तिविरुद्ध छुट्टाछुट्टै मुद्दासमेत दर्ता गराइसकेका छन्। आन्दोलनका क्रममा आत्मदाहको प्रयास भएपछि घटनाले थप गम्भीर रूप लिएको छ।