काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले ग्यास अभावका कारण उपभोक्ताले भोगिरहेको सास्तीबारे पटक–पटक आवाज उठाएपछि अध्यक्ष दाहालले सरकारलाई रुलिङ गरेका हुन्।
अध्यक्ष दाहालले बजारमा ग्यास सहज रूपमा उपलब्ध गराउने, बिक्री–वितरण प्रभावकारी बनाउने र उपभोक्तालाई समस्या नपर्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएका छन्। उनले संसद् र जनस्तर दुवैतर्फबाट ग्यास अभावबारे गुनासो आइरहेको उल्लेख गर्दै त्यसतर्फ तत्काल ध्यान दिन आग्रह गरे।
पछिल्ला केही दिनयता बजारमा कृत्रिम अभाव सिर्जना भएको, उपभोक्ताले ग्यास सिलिन्डर पाउन कठिनाइ भोग्नुपरेको तथा वितरण प्रणाली प्रभावकारी हुन नसकेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका थिए।
अध्यक्षको रुलिङसँगै सरकारले ग्यास आपूर्तिको वास्तविक अवस्था, बजार अनुगमनको प्रगति र समस्या समाधानका लागि चालिएका कदमबारे राष्ट्रिय सभालाई जानकारी गराउनुका साथै आपूर्ति व्यवस्थालाई सहज बनाउन आवश्यक पहल गर्नुपर्ने अपेक्षा गरिएको छ।