सल्यान । सल्यानको भेरी नदीमा जिप खस्दा चालकसहित दुई जना बेपत्ता भएका छन् भने अन्य दुई जना घाइते भएका छन्।
छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१ स्थित बाङ्गिरह नजिक लु १ ज ३०२२ नम्बरको जिप बुधबार दुर्घटनामा परेको हो। बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किरहेको जिप अनियन्त्रित भई सडकबाट तल भेरी नदीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि चालक र जिपका धनी नदीमा बेपत्ता भएका छन्। उनीहरूको परिचय अझै खुल्न नसकेको सल्यानका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले बताए। बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, स्थानीयवासी र अन्य सुरक्षाकर्मी परिचालन भएका छन्।
दुर्घटनामा वनगाड कुपिण्डे नगरपालिका–१, आँपखोलीका २९ वर्षीय प्रेम बिक र २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ।