पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१७ स्थित अमित ठेक्का पट्टी क्षेत्रमा सञ्चालनमा रहेको ढाटबाट भारतीय सवारीसाधनसँग प्रतिगाडी ५०० रुपैयाँका दरले रकम असुली भइरहेको आरोप सार्वजनिक भइरहेका बेला पर्सा प्रहरीले अनुसन्धानको दायरालाई फराकिलो बनाउनुको सट्टा पक्राउ परेका व्यक्तिहरूमाथि ‘अभद्र व्यवहार’को कसुरमा मात्र अनुसन्धान गरिरहेको भन्दै प्रश्न उठ्न थालेको छ।
यसअघि ढाटबाट अवैध रूपमा रकम असुली भइरहेको विषयमा समाचार प्रकाशित भएपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्जका अजय यादवलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार यादवमाथि ‘अभद्र व्यवहार’को कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइसकेको साथै उनको फाइल जिल्ला प्रशासन कार्यालय पर्सामा पेश गर्ने तयारी गरिएको छ।
तर, सोही घटनासँग सम्बन्धित विषयमा प्रहरीले पुनः दुई दिनअघि अशोक यादव नाम गरेका अर्का व्यक्तिलाई समेत सोही ढाटबाट नियन्त्रणमा लिएको छ। उनलाई पनि ‘अभद्र व्यवहार’को कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।
एकै प्रकृतिको आरोप उठिरहेको ढाटबाट दुई जना व्यक्ति पक्राउ परिसक्दा पनि ढाटबाट भइरहेको भनिएको रकम असुलीको वास्तविकता, त्यसको कानुनी आधार, असुलीको अधिकार तथा रकमको हिसाबकिताबबारे भने प्रहरीले सार्वजनिक रूपमा स्पष्ट जानकारी दिएको छैन।
स्थानीय स्रोतका अनुसार उक्त ढाटबाट कवाडी करबाहेक अन्य शीर्षकमा रकम उठाउन नपाउने व्यवस्था रहेको अवस्थामा वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी)बाट निस्कने भारतीय सवारीसाधनसँग कथित रूपमा प्रतिगाडी ५०० रुपैयाँ असुली हुँदै आएको आरोप छ।
आईसीपीबाट दैनिक ठूलो संख्यामा भारतीय सवारीसाधन आवतजावत गर्ने भएकाले प्रतिगाडी ५०० रुपैयाँका दरले रकम उठाइएको भए दैनिक रूपमा ठूलो रकम संकलन हुन सक्ने देखिन्छ। तर, उक्त रकम कसको आदेशमा उठाइन्छ, कुन कानुनी आधारमा उठाइन्छ, कसले यसको जिम्मेवारी लिएको छ र संकलित रकम कहाँ दाखिला हुन्छ भन्ने विषयमा सम्बन्धित निकायबाट स्पष्ट जवाफ आउन सकेको छैन।
यतिमात्र होइन, राजमार्ग तथा सार्वजनिक सडकमा ढाट राखेर सवारीसाधनबाट शुल्क वा कर असुल गर्ने अधिकार कसलाई छ भन्ने विषयमा समेत प्रश्न उठेको छ। कानुनी प्रक्रिया र स्वीकृतिबिना रकम असुली भइरहेको हो भने त्यसको छानबिन गरी सम्बन्धित पक्षलाई कानुनी दायरामा ल्याउनुपर्ने स्थानीयको माग छ।
तर, रकम असुलीको आरोपबारे अनुसन्धान गर्नुको सट्टा पक्राउ परेका दुवै व्यक्तिमाथि ‘अभद्र व्यवहार’को कसुरमा मात्रै अनुसन्धान अघि बढाइएको घटनाले पर्सा प्रहरीको कार्यशैलीमाथि थप प्रश्न उठाएको छ।
पक्राउ परेका व्यक्तिले वास्तवमै कसैमाथि अभद्र व्यवहार गरेका हुन् भने प्रहरीले त्यसको स्पष्ट विवरण सार्वजनिक गर्नुपर्ने देखिन्छ। कसलाई, कहिले, कुन अवस्थामा र कस्तो व्यवहार गरेको आरोपमा मुद्दा चलाइएको हो भन्ने जानकारी नदिँदा प्रहरीको कारबाहीप्रति स्वाभाविक रूपमा आशंका उत्पन्न भएको स्थानीयको भनाइ छ।
सबैभन्दा महत्वपूर्ण प्रश्न भने ढाटबाट रकम असुलीको आरोपसँग जोडिएको छ। यदि ढाटबाट गैरकानुनी रूपमा रकम उठाइएको छैन भने प्रहरीले त्यसको कानुनी आधार, ठेक्का सम्झौता, असुलीको अधिकार र राजस्व दाखिला विवरण सार्वजनिक गरी आरोपको खण्डन गर्न सक्नुपर्छ। तर, यदि रकम असुली भएको हो भने त्यसमा संलग्न व्यक्ति, रकमको स्रोत, दैनिक कारोबार तथा रकमको गन्तव्यसम्म अनुसन्धान पुग्नुपर्ने देखिन्छ।
एकपछि अर्को व्यक्तिलाई सोही ढाटबाट पक्राउ गरी ‘अभद्र व्यवहार’को मुद्दामा अनुसन्धान गरिँदा वास्तविक रूपमा उठेको भनिएको ५०० रुपैयाँको विषय ओझेलमा परेको त होइन भन्ने प्रश्नसमेत उठ्न थालेको छ।
स्थानीयवासीले ढाट सञ्चालनको सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउन, ठेक्का सम्झौता सार्वजनिक गर्न, रकम असुलीको कानुनी आधार स्पष्ट पार्न तथा दैनिक संकलन हुने रकमको हिसाब सार्वजनिक गर्न माग गरेका छन्।
त्यसैगरी, पर्सा प्रहरीले अजय यादव र अशोक यादवमाथि लगाइएको ‘अभद्र व्यवहार’को कसुरको स्पष्ट आधार सार्वजनिक गर्नुपर्ने र उनीहरूको पक्राउ ढाटबाट हुने भनिएको रकम असुलीको घटनासँग कसरी सम्बन्धित छ भन्ने विषयमा समेत तथ्य सार्वजनिक गर्नुपर्ने माग उठेको छ।
अन्यथा, अवैध असुलीको गम्भीर आरोपमाथि अनुसन्धान गर्नुको सट्टा एकपछि अर्को व्यक्तिलाई पक्राउ गरी ‘अभद्र व्यवहार’को मुद्दामा अनुसन्धान सीमित गरिनुले पर्सा प्रहरीको कारबाहीप्रति उठेका प्रश्न अझ गम्भीर बन्ने देखिन्छ।
अब पर्सा प्रहरीले ढाटबाट प्रतिगाडी ५०० रुपैयाँ असुली भएको वा नभएको विषयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने हो कि पक्राउ र ‘अभद्र व्यवहार’को मुद्दामै अनुसन्धान सीमित गर्ने हो भन्ने विषयमा आम चासो बढेको छ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले भने आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेका छन् । प्रमाण हुँदा हुँदै पनि मुद्दा चल्दैन भन्ने गरेका छ्न । साथै यो हामीले हेर्न नमिल्ने भन्दै तर्क गर्दै आएका छ्न । यो तर्कले आम जसमुदायलाई उनको पनि मिलोमतो हो कि भने चर्चा गर्ने गरेका छ्न।