वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा महमद नवाज हुसैनले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्नुभएको छ।
गाउँपालिकाको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा हुसैनले पदबहाली गर्दै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी औपचारिक रूपमा ग्रहण गर्नुभएको हो। पदबहालीसँगै गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।
स्वागत तथा पदबहाली कार्यक्रममा गाउँपालिकाको प्रशासनिक व्यवस्थापन, विकास निर्माणका योजना, कर्मचारी परिचालन तथा नागरिकलाई प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने विषयमा छलफल भएको जनाइएको छ।
पदभार ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत हुसैनले गाउँपालिकाको प्रशासनिक कामलाई थप व्यवस्थित बनाउँदै सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ।
उहाँले कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउने, विकास योजनाको प्रभावकारी कार्यान्वयनमा सहजीकरण गर्ने तथा कर्मचारी र जनप्रतिनिधिबीच समन्वयलाई प्राथमिकता दिने बताउनुभएको छ।
हुसैनको आगमनसँगै पटेर्वा सुगौली गाउँपालिकाको दैनिक प्रशासनिक काम, योजना कार्यान्वयन, कर्मचारी व्यवस्थापन र नागरिक सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
गाउँपालिका परिवारले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत महमद नवाज हुसैनलाई सफल, उपलब्धिमूलक तथा सेवामुखी कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ।