पर्सा । ‘विद्यालय सबैका लागि हो’ भन्ने सन्देशसहित पर्साका दुई स्थानीय तहमा विद्यार्थीहरूले समावेशी शिक्षा, सुरक्षित विद्यालय र बालअधिकारका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका छन्।
विद्यार्थीमा समावेशी शिक्षा तथा बालअधिकारसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले धोविनी र जगरनाथपुर गाउँपालिकामा ‘समावेशी शिक्षा र सुरक्षित विद्यालय’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले विद्यालयमा हुने विभेद, बालबालिकाको समान सहभागिता, सुरक्षित तथा बालमैत्री वातावरण र शिक्षामा सबैको समान पहुँच हुनुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएका थिए।
अकाउन्टेबिलिटी ल्याब नेपालको सहयोग तथा सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC) पर्साको आयोजना तथा सहकार्यमा धोविनी गाउँपालिकास्थित श्री अजिज मियाँ माध्यमिक विद्यालय र जगरनाथपुर गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, संठीमा प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगिताका क्रममा विद्यार्थीहरूले शिक्षा केवल विद्यालयमा उपस्थित हुने विषय मात्र नभई हरेक बालबालिकाले सुरक्षित वातावरणमा समान अवसर र सम्मानका साथ सिक्न पाउने अधिकार भएको धारणा राखेका थिए। उनीहरूले जात, लिंग, आर्थिक अवस्था, शारीरिक अवस्था वा अन्य कुनै आधारमा हुने विभेदले बालबालिकाको शिक्षामा प्रत्यक्ष असर पार्ने भन्दै विद्यालयलाई सबैका लागि समान र सुरक्षित बनाइनुपर्नेमा जोड दिएका थिए।
धोविनी गाउँपालिकामा आयोजित प्रतियोगितामा रामशरण पटेल प्रथम भएका छन्। अब्दुल अन्सारी द्वितीय र नौसाद आलम तृतीय भएका छन्।
कार्यक्रममा अकाउन्टेबिलिटी ल्याब नेपालका दिपेश पटेल, धोविनी गाउँपालिकाका शिक्षा प्रमुख जितेन्द्र चौहान, SODCC पर्साका विशाल गुप्ता तथा विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामलगायत शिक्षक, अभिभावक र विद्यार्थी गरी करिब १२० जनाको सहभागिता रहेको थियो।
यस्तै, जगरनाथपुर गाउँपालिकामा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, संठीकी काजल कुमारी प्रथम, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानीका राजकुमार साह द्वितीय र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, संठीकी सेस्नी कुमारी तृतीय भएका छन्।
त्यसैगरी श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जगरनाथपुरका नौसाद आलम र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, संठी–मसिहानीकी अञ्जली कुमारीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।
जगरनाथपुरमा आयोजित कार्यक्रममा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय संठी, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानी र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जगरनाथपुरका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका शिक्षा प्रमुख रविन्द्र प्रसाद यादव, SODCC पर्साका कार्यकारी निर्देशक रुपक पाण्डे, दुलार्चन साह, अजय पटेल, GIEN का प्रतिनिधि, अभिभावक तथा विद्यार्थी गरी करिब १३५ जनाको सहभागिता रहेको थियो।
वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरूले विद्यालयलाई सुरक्षित र बालमैत्री बनाउन केवल विद्यालयको प्रयास पर्याप्त नहुने धारणा पनि राखेका थिए। उनीहरूका अनुसार बालबालिकाको अधिकार सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय, शिक्षक, अभिभावक, समुदाय र स्वयं विद्यार्थीबीच सहकार्य आवश्यक छ।
सुरक्षित विद्यालय भन्नाले भौतिक संरचना मात्र सुरक्षित हुनु नभई विद्यालयमा बालबालिकाले डर, भेदभाव र हिंसाबाट मुक्त भएर अध्ययन गर्न पाउने वातावरण निर्माण हुनु पनि रहेको सहभागीहरूले बताएका थिए।
आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीलाई आफ्ना विचार, अनुभव र सवाल सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ। साथै समावेशी शिक्षा, बालअधिकार, सुरक्षित विद्यालय र भेदभावरहित शिक्षाका विषयलाई विद्यालय तथा समुदायस्तरसम्म पुर्याउन प्रतियोगिताले सहयोग पुगेको जनाएको छ।
विद्यार्थीका आवाज र विचारलाई विद्यालयको शैक्षिक वातावरणसँग जोड्दै यस्ता गतिविधिले बालबालिकालाई आफ्ना अधिकारबारे जानकार बनाउनुका साथै सुरक्षित, समान र समावेशी विद्यालय निर्माणका लागि आवश्यक संवादको वातावरण तयार गर्ने आयोजकको भनाइ छ।