सिरहा । सिरहाको सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोकको गागन खोलाको पुलबाट सशस्त्र प्रहरी बलले ११ क्वीन्टलभन्दा बढी गाँजा बरामद गरेको घटना मधेश प्रदेशमा ठूलो परिमाणमा भइरहेको प्रतिबन्धित गाँजा ओसारपसारको पछिल्लो उदाहरण बनेको छ । सशस्त्र प्रहरीले जनाए अनुसार विशेष सूचनाका आधारमा राति करिब साढे १२ बजे बा १४ च २९४ नम्बरको बोलेरो र स ६ प ४८५९ नम्बरको अपाचे मोटरसाइकललाई पछ्याइएको थियो ।
सुरक्षाकर्मीको गाडी देखेपछि चालक तथा अन्य व्यक्ति सवारीसाधन छाडेर फरार भएका थिए । त्यसपछि २६ वटा बोरामा राखिएको ११ क्वीन्टल २ किलो ६ सय ५५ ग्राम अर्थात् १ हजार १०२ किलो ६ सय ५५ ग्राम गाँजा बरामद भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा प्रदेशका आठ जिल्लाबाट ८ हजार ५ सय ४० किलो ९ सय ५० ग्राम गाँजा बरामद भएको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा बरामद परिमाण बढेर १२ हजार ३ सय ९१ किलो ६ सय ६ ग्राम पुगेको थियो । दुई आर्थिक वर्षको तथ्यांक जोड्दा प्रदेशबाट २० हजार ९ सय ३२ किलो ५ सय ५६ ग्राम अर्थात करिब २०.९३ टन गाँजा बरामद भएको देखिन्छ । यस अवधिमा लागूऔषधसम्बन्धी घटनामा आर्थिक वर्ष २०८०/८१ मा १ हजार १०४ जना पक्राउ परेका थिए भने ७९७ वटा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०८१/८२ मा ८३६ जना पक्राउ परेका र ५८५ वटा मुद्दा दर्ता भएको जनाइएको छ । मधेशमा पछिल्ला वर्षमा ठूलो परिमाणमा गाँजा बरामद हुने जिल्लामध्ये सप्तरी अगाडि देखिएको छ । सार्वजनिक प्रहरी विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा सप्तरीबाट करिब ६ हजार १० किलो गाँजा बरामद भएको थियो ।
साउनदेखि चैतसम्मको अवधिमा मात्रै ६ हजार २४८ किलो गाँजा बरामद भएको र ३२ जना पक्राउ परेको विवरणसमेत सार्वजनिक भएको छ । त्यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बाट तीनवटा सवार ीसाधनबाट ३ हजार ३ सय ३२ किलो ४ सय ६० ग्राम गाँजा बरामद भएको थियो । सवारीसाधनका चालक भने फरार भएका थिए । यसअघि सप्तरीकै राजगढ क्षेत्रमा करिब १७ क्वीन्टल गाँजा बरामद भएको थियो ।
प्रहरीले जनाए अनुसार पहाडी क्षेत्रबाट ल्याइएको गाँजा सप्तरीमा भण्डारण गरी सीमावर्ती बाटो हुँदै भारत लैजाने प्रयास हुने गरेको पाइएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१४ मिलनचोकमा प्रहरीले २०८१ जेठमा दुईवटा घरमा खानतलासी गर्दा १ हजार ६ सय १२ किलो ८ सय ५० ग्राम गाँजा बरामद गरेको थियो । घरका विभिन्न कोठामा ड्रम तथा बोरामा लुकाएर राखिएको गाँजासँगै च्याप्ने मेसिनसमेत बरामद भएको प्रहरीले जनाएको थियो । यस घटनाले गाँजा सीमाबाट तत्काल पार गराउने मात्र नभई मधेशका विभिन्न स्थानमा भण्डारण गरेर राख्ने गरेको अवस्थासमेत देखाउँछ । सिरहाको लहान, गोलबजार, मिर्चैया र सुखीपुर क्षेत्रमा गाँजा ओसार पसारका घटना पटक–पटक सार्वजनिक हुँदै आएको छ ।
लहान नगरपालिका–३ बाट पिकअपमा फलफूलका क्रेटभित्र लुकाइएको ६५२ किलो गाँजा बरामद गरी तीन जना पक्राउ गरिएको थियो । पछिल्लो सुखीपुर घटनामा भने एक टनभन्दा बढी गाँजा बरामद भएको छ । ठूलो परिमाणका घटनामा चालक तथा सहयोगीहरू सवारीसाधन छाडेर फरार हुने प्रवृत्तिले गाँजा कारोबारको मुख्य सञ्जालसम्म पुग्नु सुरक्षा निकायका लागि चुनौती बनेको छ । प्रहरीले जनाए अनुसार मकवानपुर, सिन्धुलीलगायत पहाडी क्षेत्रबाट गाँजा ल्याएर मधेशका सीमावर्ती जिल्लामार्फत भारतीय बजारतर्फ लैजाने प्रयास हुने गरेको छ ।
पक्राउ परेकाहरूको बयानका आधारमा भारतीय सीमावर्ती बजार गाँजाको प्रमुख गन्तव्य हुने गरेको प्रहरीको भनाइ छ । खुला नेपाल–भारत सीमा, ग्रामीण तथा वैकल्पिक सडकको प्रयोग र सीमावर्ती क्षेत्रमा हुने आवतजावतका कारण गाँजा नियन्त्रण चुनौतीपूर्ण बनेको छ । दुई वर्षमा २०.९३ टनभन्दा बढी गाँजा बरामद भएको तथ्यांकले देखाएको छ ।