जिराभवानी । पर्साको जिराभवानी गाउँपालिका–४ स्थित इलाका प्रशासन कार्यालय सुपौलीमा विगत दुई सातादेखि कार्यालय प्रमुख अनुपस्थित रहेको भन्दै सेवाग्राहीले प्रशासनिक सेवा प्रभावित भएको गुनासो गरेका छन्।
कार्यालय प्रमुखको अनुपस्थितिका कारण नागरिकता, नागरिकताको प्रतिलिपि, सिफारिसलगायतका महत्वपूर्ण प्रशासनिक काम प्रभावित भएको सेवाग्राहीहरूको भनाइ छ। कार्यालयमा अन्य कर्मचारी उपस्थित भए पनि प्रमुखको निर्णय तथा स्वीकृति आवश्यक पर्ने कामहरू प्रभावित हुँदा सेवाग्राहीहरू समस्यामा परेको बताइएको छ।
स्थानीय सेवाग्राहीका अनुसार नागरिकता तथा अन्य कागजी कामका लागि ठोरी,जिराभवानी जगरनाथपुर पटेर्वासुगलीलगायत गाउँपालिका बाट टाढाका क्षेत्रबाट कार्यालय पुग्ने नागरिकहरू काम नभएपछि खाली हात फर्किनुपर्ने अवस्था आएको छ। विशेषगरी नयाँ नागरिकता तथा प्रतिलिपि बनाउन आउने विद्यार्थी, ज्येष्ठ नागरिक र रोजगारीका लागि विदेश जाने तयारीमा रहेका युवाहरू प्रभावित भएको उनीहरूको गुनासो छ।
कार्यालयका एक कर्मचारीका अनुसार कार्यालय प्रमुख अनुपस्थित हुँदा सहायक कर्मचारीहरू नियमित रूपमा कार्यालयमा आए पनि प्रशासनिक निर्णय तथा स्वीकृति आवश्यक पर्ने कामहरू अघि बढाउन कठिनाइ भएको छ।
लामो समयसम्म कार्यालय प्रमुख अनुपस्थित रहँदा पनि सम्बन्धित निकाय तथा जिल्ला प्रशासन कार्यालय पर्साले प्रभावकारी पहल नगरेको भन्दै स्थानीय सेवाग्राहीले गुनासो गरेका छन्। उनीहरूले तत्काल कार्यालय प्रमुखको व्यवस्थापन गरी रोकिएका प्रशासनिक सेवाहरू नियमित रूपमा सञ्चालन गर्न माग गरेका छन्।
सेवाग्राहीले नागरिकता तथा अन्य अत्यावश्यक प्रशासनिक सेवा सहज रूपमा प्राप्त गर्ने वातावरण बनाउन सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण हुनुपर्ने बताएका छन्।