पकाहा मैनपुर । पर्साको पकाहा मैनपुर गाउँपालिकामा नियमविपरीत एक प्राथमिक राहत शिक्षकलाई पुनः शिक्षा शाखा प्रमुख बनाउन चलखेल सुरु भएको खबर प्राप्त भएको छ।
प्राथमिक राहत शिक्षक सन्जय प्रसाद चौहानले नियम र कानुनलाई मिचेर शिक्षा प्रमुख बन्न गाउँपालिका अध्यक्ष सुरेश मेहता र प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहलाई चर्को दबाब दिइरहेको खुलासा भएको छ।
यसअघि पनि शिक्षा शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दा शिक्षा क्षेत्रमा व्यापक भ्रष्टाचार र अनियमितता गरेको आरोप चौहानमाथि लागेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजलाई उक्त पदमा राख्न नमिल्ने ठहर गर्दै पत्र पठाएपछि दबाबमा परेका चौहानले मिति २०८३/०२/२७ मा आफैं राजीनामा बुझाएर शिक्षण पेशामै फर्किएका थिए। तर, राजीनामा दिएको केही समय नबित्दै पुनः सोही पद हत्याउन उनले चौतर्फी दबाब बढाएपछि पालिकाभित्र तरङ्ग पैदा भएको छ।
कानुनको स्पष्ट उल्लंघन
शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ को दशौं संशोधनले शिक्षकहरू शिक्षण पेशाबाहेक अन्य प्रशासनिक वा गैह्र-शिक्षण गतिविधिमा संलग्न हुन नपाउने कडा कानुनी व्यवस्था गरेको छ। प्राथमिक तहका राहत शिक्षकलाई पालिकाको शिक्षा जस्तो संवेदनशील शाखाको प्रमुख बनाउनु प्रचलित कानुन र निजामती तथा शिक्षा सेवाको मर्मविपरीत हुने सरोकारवालाहरू बताउँछन्।
स्थानीयको चेतावनी:
"विगतमा भ्रष्टाचारको आरोपमा अख्तियारको पत्रपछि राजीनामा दिएका व्यक्तिलाई पुनः शिक्षा प्रमुख बनाइए पकाहा मैनापुरको शिक्षा क्षेत्र पूर्ण रूपमा अस्तव्यस्त हुनेछ। नियमविपरीत निर्णय गरिए हामी पालिका, अख्तियार र उच्च अदालतमा मुद्दा दर्ता गर्ने अन्तिम तयारीमा छौं।"
प्राथमिक तहका शिक्षकलाई गैरकानुनी रूपमा शाखा प्रमुखको जिम्मेवारी सुम्पिन लागिएको भन्दै स्थानीय अभिभावक, बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिहरू आक्रोशित बनेका छन्।
यदि कानुनी व्यवस्थाको धज्जी उडाउँदै गलत निर्णय गरिए कडा आन्दोलनका साथै न्यायिक निकायको ढोका घच्घच्याउने चेतावनी उनीहरूले दिएका छन्।