काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ५० वर्ष लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गरेका छन्।
५ महिलापछि स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो निवास चुनदेवीमा पुगेपछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् । देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनहरूबाट आफू विचलित नहुने बताए ।
आफूविरुद्ध भएका विभिन्न उजुरी र छानबिनको प्रसङ्ग उल्लेख गर्दै देउवाले अदालत जान आफू नडराउने बताए । ‘अदालतसम्म गाको छ, १० पटकसम्म आउनु भन्छ । १० पटक आयो, केही छैन भन्छ । ११ पटक आयो, २० पटक आयो, केही छैन। किनभने अहिलेसम्म ५० वर्ष काम गर्या छ, एक रुपैयाँ कतैबाट तलमाथि भन्या कुरा छैन।’
मन्तव्यका क्रममा देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रसङ्ग निकाले । ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ उनले लोकतन्त्र र गणतन्त्रलाई कसैले पनि उल्ट्याउन नसक्ने दाबी गरे ।
मुलुकमा गणतन्त्र आफूले चाहेर मात्र नभई जनताले चुनेको संविधानसभाले ल्याएको बताए। गणतन्त्रको रक्षाका लागि जनता नै सचेत रहेको उल्लेख गर्दै देउवाले भने, ‘मैले चाहेर आउने र मैले चाहेर जाने कुरा होइन। यो देशको सबैभन्दा ठुलो कुरा हो। यो देशको जनता नेपालको मालिक हो। यो मालिकले जे भन्छ त्यहीँ हुन्छ।’
देउवाले यो देशको अदालत र जनताले सबै कुरा बुझेको भन्दै आफूविरुद्ध लाग्नेहरूलाई समयले नै उत्तर दिने बताए।