जनकपुर । मधेस प्रदेशमा बढ् दो विद्युत् मागलाई दीर्घकालीन रूपमा सम्बोधन गर्ने उद्देश्यले प्रसारण लाइन र सबस्टेसन निर्माण कार्य तिव्रगतिमा अघि बढाइएको छ ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका अनुसार मधेसमा विद्युत् आपूर्ति सुधार गर्ने लक्ष्यसहित अघि बढाइएका विभिन्न प्रसारण लाइन तथा सबस्टेसन आयोजना अहिले निर्माण तथा पूर्वनिर्माणका अन्तिम चरणमा छन् । मधेसमा निर्माणाधीन महत्त्वपूर्ण आयोजनामध्ये ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन आयोजना एक हो । करिब २४ किलोमिटर लामो डबल सर्किट १३२ केभी प्रसारण लाइन नो–लोड अवस्थामा सफलतापूर्वक चार्ज भइसकेको छ ।
बालगंगा सबस्टेसनमा भने सिभिल निर्माण तथा उपकरण जडानको काम तीव्र गतिमा भइरहेको छ । मन्त्रालयले दसैंअघि नै आयोजना सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । हंसपुर नगरपालिका–९ मा निर्माण भइरहेको सबस्टेसनमा ६३ एमभीए क्षमताको १३२/३३ केभी सबस्टेसन रहने छ । करिब २ अर्ब १३ करोड ६० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजना अन्तर्गत ढल्केबर–लोहारपट्टी १३२ केभी लाइनको टावर नम्बर ३० बाट प्रसारण लाइन निकालेर बालगंगा सबस्टेसनमा जोडिने छ ।
सबस्टेसनका पावर ट्रान्सफर्मर सहित अधिकांश प्रमुख उपकरण आयोजना स्थल पुगिसकेका छन् । सिभिल निर्माण अन्तिम चरणमा पुगेको छ भने उपकरण जडानको काम भइरहेको छ । कन्ट्रोल रुम र कर्मचारी आवास भवन निर्माण पनि अन्तिम चरणमा छन् । मधेसको विद्युत् प्रणालीमा ३३ केभी र ११ केभी वितरण लाइनमा बढ् दो भार प्रमुख चुनौतीका रूपमा देखिएको छ । विशेषगरी सिरहा र सप्तरीका ग्रामीण तथा औद्योगिक क्षेत्रमा विद्युत् माग बढ्दै गएपछि विद्यमान वितरण संरचनाले भविष्यको माग धान्न कठिन हुने अवस्था छ ।
यसलाई सम्बोधन गर्न लहान–सुखीपुर १३२ केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ । लहान सबस्टेसनदेखि सुखीपुरमा प्रस्तावित १३२/३३/११ केभी सबस्टेसनसम्म करिब १७ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । सुखीपुर सबस्टेसनमा ६३ एमभीएका दुई र २४ एमभीएको एक ट्रान्स्फर्मर जडान गरिने छ । लहान सबस्टेसनमा पनि दुइटा १३२ केभी लाइन बे थपिनेछन् । करिब १ अर्ब ५३ करोड लागत अनुमान गरिएको आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययन सम्पन्न भइसकेको छ । सुखीपुर सबस्टेसनको सीमा पर्खाल निर्माण तथा निर्माण अनुमतिपत्र प्राप्त भइसकेको छ ।
प्रसारण लाइनका टावर निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण अन्तिम चरणमा पुगेको छ । निर्माण व्यवसायीले २४ महिनाभित्र प्रसारण लाइन निर्माण, परीक्षण तथा सञ्चालनमा ल्याउने गरी काम सुरु गरिसकेको प्राधिकरणले जनाएको छ । बाँकी जग्गा अधिग्रहण आगामी भदौसम्म सम्पन्न गर्ने लक्ष्य छ । सप्तरीमा विद्युत् माग र औद्योगिक सम्भावना ध्यान दिँदै रुपनी–बोदेबरसाइन १३२ केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ । करिब १८ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरी बोदेबरसाइनमा १३२/३३/११ केभी सबस्टेसन स्थापना गर्ने योजना छ । प्रस्तावित सबस्टेसनमा ३० एमभीएका दुई र २४ एमभीएको एक ट्रान्स्फर्मर रहनेछन् ।
रुपनी सबस्टेसनमा दुइटा १३२ केभी लाइन बे थपिनेछन् । आयोजनाको अनुमानित लागत करिब १ अर्ब ५६ करोड छ । अध्ययनका काम सम्पन्न भइसकेका छन् भने सबस्टेसनको सीमा पर्खाल निर्माण र निर्माण अनुमतिपत्र प्राप्त भइसकेको छ । लागत अनुमान स्वीकृत भइसकेकाले बोलपत्र सम्बन्धी कागजात तयार गर्ने प्रक्रिया अघि बढाइएको छ । रौतहटमा चन्द्रपुर–सरुअठा १३२ केभी प्रसारण लाइन आयोजना मार्फत मध्य तथा दक्षिणी क्षेत्रको विद्युत् आपूर्ति सुधार गर्ने तयारी छ । चन्द्रनिगाहपुरस्थित विद्यमान सबस्टेसनदेखि यमुनामाई गाउँपालिका–४ सरुअठामा प्रस्तावित सबस्टेसनसम्म करिब ३७ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिने छ ।
सरुअठामा १३२/३३/११ केभी सबस्टेसन निर्माण गरी ६३ एमभीएका दुइटा १३२/३३ केभी तथा २४ एमभीएका दुइटा ३३/११ केभी ट्रान्स्फर्मर जडान गर्ने योजना छ । प्रसारण लाइन निर्माण भएपछि गौर, मनपुर, सिम्रौनगढ र मौलापुर क्षेत्रका वितरण केन्द्रमा विद्युत् आपूर्ति थप भरपर्दो हुने अपेक्षा गरिएको छ । आयोजनाको करिब ७ किलोमिटर प्रसारण लाइन राष्ट्रिय वन क्षेत्र हुँदै जाने भएकाले वन क्षेत्रको स्वीकृति तथा टावरका लागि जग्गा अधिग्रहणको काम भइरहेको छ । विस्तृत सम्भाव्यता तथा वातावरणीय अध्ययन, सबस्टेसनका लागि जग्गा अधिग्रहण, सीमा पर्खाल र सुरक्षा भवन निर्माण लगायत अधिकांश पूर्वनिर्माणका काम भने सम्पन्न भइसकेका छन् ।
प्रसारण लाइनको चेक सर्भे, टावर प्रोफाइलिङ, पेगिङ, पिट मार्किङ तथा कित्ता नक्सासम्बन्धी काम पनि पूरा भएको छ । करिब ९३ करोड ८२ लाख ४० हजार रुपैयाँमा गत जुलाईमा निर्माण व्यवसायीसँग सम्झौता भएको आयोजनाको निर्माण अवधि ३० महिना तोकिएको छ । सरुअठा सबस्टेसनका लागि खरिद प्रक्रिया पनि अघि बढिरहेको छ । औद्योगिक करिडोरका रूपमा विकसित बारा–पर्सामा विद्युत् माग तीव्र बढिरहेका बेला हेटौंडा–परवानीपुर–पोखरिया १३२ केभी प्रसारण लाइन आयोजनालाई पनि प्राथमिकतामा राखिएको छ ।
आयोजना अन्तर्गत परवानीपुरदेखि पोखरियासम्म २१.२१ किलोमिटर लामो १३२ केभी चार सर्किट प्रसारण लाइन निर्माण गरिने छ । पोखरियामा नयाँ १३२/३३/११ केभी सबस्टेसन स्थापना तथा परवानीपुर सबस्टेसनमा बे विस्तार गरिने छ । पोखरिया सबस्टेसनमा कन्ट्रोल रुम, कर्मचारी आवास, स्टोर, गार्ड हाउस तथा उपकरण र ट्रान्स्फर्मर फाउन्डेसन निर्माण भइरहेका छन् ।
बोलपत्र प्रक्रिया सम्पन्न गरी चिनियाँ कम्पनीसँग निर्माण सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ । आयोजना सन् २०२७ सेप्टेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य छ ।