रौतहट । सशस्त्र प्रहरीले आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशका आठवटै जिल्लाबाट ७५ करोड रुपियाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ।
छिन्नमस्ता बाहिनीअन्तर्गत मधेस प्रदेशमा परिचालित सशस्त्र प्रहरीको गस्ती टोलीले २०८२ साउनदेखि गत असार मसान्तसम्मको अवधिमा ७५ करोड २८ लाख ४५ हजार ४७६ रुपियाँ २० पैसा बराबरको अवैध सामान बरामद गरेको हो। उक्त सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
सशस्त्र प्रहरी मधेस प्रदेशका प्रवक्ता एसएसपी सुभाष भण्डारीका अनुसार भारतबाट भन्सार छली नेपाल भित्र्याइएका कपडा, किराना, हार्डवेयरलगायतका सामग्री बरामद भएका छन्। यस्तै तेस्रो मुलुकबाट नेपाल हुँदै चोरी-लुकी भारत लैजान खोजिएको ठुलो परिमाणको तरबुजाको बीउसमेत बरामद गरिएको उनले जानकारी दिएका छन्। बरामद गरिएका सामान कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ।
मधेस प्रदेशमा डीआईजी विष्णुप्रसाद भट्टले नेतृत्व सम्हालेपछि सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राख्दै शून्य सहनशीलताको नीति अपनाइएको छ। उनको नेतृत्वमा नेपाल-भारत सीमामा हुने चोरी-तस्करी, अवैध ओसारपसार र सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि गस्ती, निगरानी तथा सूचना संयन्त्रलाई थप प्रभावकारी बनाइएको छ।
सशस्त्र प्रहरीले सीमा सुरक्षालाई मजबुत बनाउँदै तस्करी नियन्त्रणका लागि नियमित तथा विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ। डीआईजी भट्टले तस्करसँग साँठगाँठ राख्ने कैयौँ अधिकारीलाई कारबाहीको दायरामा ल्याइसकेका छन्। आर्थिक प्रलोभनमा परेर नीति विपरीत काम गर्ने जोकोहीलाई पनि कडा कारबाहीको दायरामा ल्याउने चेतावनी उनले दिएका छन्।
पछिल्लो समय सीमा क्षेत्रमा अवैध कारोबार नियन्त्रणसँगै सुरक्षा उपस्थिति प्रभावकारी बनेको भन्दै स्थानीय तह तथा सुरक्षा क्षेत्रका जानकारहरूले सशस्त्र प्रहरीको कार्यशैलीको सकारात्मक मूल्याङ्कन गर्न थालेका छन्।