वीरगन्ज । वीरगन्जस्थित ऐतिहासिक ठाकुर राम बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको स्नातकोत्तर तहको परीक्षामा खुलेआम धाँधली र गुण्डागर्दी भएको छ। परीक्षा हलभित्रै मोबाइल फोनको प्रयोग गरी अनधिकृत रूपमा उत्तर लेख्ने र लेख्न लगाउने काम भइरहेको भेटिएपछि क्याम्पस परिसरमा गम्भीर विवाद र तनाव उत्पन्न भएको हो।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सभापति राज यादवका अनुसार परीक्षा चलिरहेका बेला परीक्षार्थी आयुष यादवले मोबाइल फोनबाट निर्धक्क उत्तर सारिरहेको भेटिएका थिए। मर्यादित परीक्षाको माग गर्दै सभापति यादवले उक्त कार्यको विरोध जनाउनासाथ परीक्षार्थी यादव उल्टै आक्रमणमा उत्रिएका थिए।
आक्रमणपछि स्ववियु सभापतिले प्रतिकार गर्दा परीक्षार्थी यादवले टेलिफोन गरेर बाहिरबाट अराजक समूहलाई परीक्षा हलभित्रै बोलाएका थिए। बाहिरबाट आएका गैर-परीक्षार्थीहरू परीक्षा स्थलमा प्रवेश गरी हुलमुल र वादविवाद सिर्जना गर्दै परीक्षाको वातावरण पूर्ण रूपमा बिर्गारेका थिए।
घटनाको खबर पाएर पुगेको प्रहरी टोलीले समेत स्थिति नियन्त्रणमा लिनुको सट्टा सत्यतथ्य नबुझी अन्धाधुन्ध लाठीचार्ज गरेको पीडित पक्षको आरोप छ। प्रहरीको लाठीप्रहारबाट स्ववियु सभापति यादवसँगै उभिएका अन्य निर्दोष विद्यार्थीहरू घाइते भएका छन्।
"परीक्षा जस्तो अत्यन्तै संवेदनशील र मर्यादित विषयमा खुलेआम धाँधली भइरहँदा टुलुटुलु हेरेर बस्न सकिएन। विरोध गर्दा बाहिरका मान्छे बोलाएर आक्रमण गरियो, अनि प्रहरीले उल्टै हामीमाथि लाठी बर्सायो," स्ववियु सभापति राज यादवले भने।
यादवले क्याम्पस प्रशासन र सम्बन्धित निकायसँग परीक्षाको मर्यादा कायम राख्न, घटनाको निष्पक्ष छानबिन गर्न र दोषीहरूमाथि कडा कानुनी कारबाही गर्न जोडदार माग गरेका छन्।
यता, परीक्षा हलभित्रै मोबाइल पुग्नु र बाहिरी व्यक्तिहरू निर्बाध प्रवेश गरी गुण्डागर्दी गर्दासमेत क्याम्पस प्रशासन भने मौन देखिएको छ। यस विषयमा क्याम्पस प्रशासनको आधिकारिक धारणा अझै सार्वजनिक भइसकेको छैन।
उच्च शिक्षाको केन्द्र मानिने क्याम्पसमै परीक्षाको गोपनीयता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेकाले दोषीलाई तत्काल कारबाही गरी मर्यादित वातावरण कायम गर्न आम विद्यार्थीहरूले समेत माग गरेका छन्।