वीरगञ्ज । पर्साको पकहा मैनपुर गाउँपालिका–३ निवासी हरेन्द्र हजाराका नातिको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ। परिवारजनले गाउँपालिकाको एम्बुलेन्स चालक मनोज यादवको लापरबाहीका कारण समयमै उपचार नपाउँदा शिशुको मृत्यु भएको आरोप लगाएका छन्।
परिवारजनका अनुसार बिरामी शिशुलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लैजानुपर्ने अवस्था थियो। तर, एम्बुलेन्स चालक यादवले आफूलाई कमिसन प्राप्त हुने भन्दै शिशुलाई आशाराम अस्पताल लैजान दबाब दिएको उनीहरूको आरोप छ।
परिवारले नारायणी अस्पताल लैजान आग्रह गरिरहेको भए पनि चालक यादवले एम्बुलेन्स वीरगञ्जका विभिन्न सडकमा करिब दुई घण्टासम्म घुमाएको परिवारजनको दाबी छ। लामो समयसम्म अस्पताल नपुर्याइँदा शिशुको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएको उनीहरूले बताएका छन्।
परिवारजनका अनुसार अवस्था गम्भीर भएपछि चालक यादवले एम्बुलेन्स जिल्ला प्रशासन कार्यालय, पर्सामा लगेर छाडेका थिए। त्यसपछि उक्त कार्यालयका चालकले एम्बुलेन्स आफैं चलाएर वीरगञ्जको माइस्थान चोकसम्म पुर्याउँदा शिशुको मृत्यु भइसकेको परिवारको भनाइ छ।
घटनापछि एम्बुलेन्स चालक मनोज यादवलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले चालकलाई नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।
प्रवक्ता मल्लका अनुसार पीडित पक्षको जाहेरीका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइनेछ। घटनाको वास्तविकता तथा चालकको लापरबाही भएको वा नभएको विषय अनुसन्धानपछि स्पष्ट हुने प्रहरीले जनाएको छ।
परिवारजनले सार्वजनिक सेवाका लागि सञ्चालन गरिएको एम्बुलेन्सलाई कमिसनको स्वार्थमा प्रयोग गरिएको भए त्यसको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
घटनाले सार्वजनिक स्वास्थ्य सेवाका लागि सञ्चालन गरिएका एम्बुलेन्सको व्यवस्थापन, चालकको जिम्मेवारी र बिरामीलाई समयमै उपचारको पहुँचमा पुर्याउने प्रणालीमाथि समेत गम्भीर प्रश्न उठाएको छ।