पर्सा । पर्सा प्रहरीले असोज महिनामा अपराध नियन्त्रण तथा अवैध कारोबारविरुद्ध सञ्चालन गरेको अभियानका क्रममा २४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले भन्सार छली गरी ल्याइएका करिब ७५ लाख ४४ हजार रुपैयाँ बराबरका सामानसमेत बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार असोज महिनामा जिल्लाभरि विभिन्न प्रकृतिका १११ वटा अपराधका घटना दर्ता भएका छन् । तीमध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीसम्बन्धी ९, ज्यानसम्बन्धी ८, महिला तथा बालबालिकासम्बन्धी ६ र आत्महत्यासम्बन्धी ४ घटना छन्। सवारी ज्यानका २ र अन्य प्रकृतिका ४ घटना पनि दर्ता भएका छन् ।
प्रहरीले सो अवधिमा चालु मुद्दाका १२० जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । यस्तै, फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयन अभियानअन्तर्गत १०३ जनालाई पक्राउ गरिएको छ । उनीहरूबाट ४० वर्ष ११ महिना १२ दिन कैद र २ करोड ७१ लाख १२ हजार ४४२ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने विवरण प्रहरीले सार्वजनिक गरेको छ ।
पर्साका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईले प्रहरीले असोज महिनामा लागुऔषधसम्बन्धी १६ वटा मुद्दा दर्ता गरी २४ जनालाई पक्राउ गरेको र उनीहरूको साथबाट ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरिएको जनाएका छन् । यसैगरी, भन्सार छली गरी ल्याइएका अनुमानित ७५ लाख ४४ हजार ४९ रुपैयाँ बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। अवैध हातहतियार नियन्त्रण अभियानका क्रममा पाँच थान हतियार र ६ राउन्ड गोलीसमेत बरामद गरिएको छ ।
अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रणका क्रममा प्रहरीले ४ हजार १७६ लिटर मदिरा र ६ हजार ६०५ लिटर कच्चा पदार्थ बरामद गरेको छ । यस क्रममा एक जना पक्राउ परेका छन् भने दुई वटा मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरिएको विवरणमा उल्लेख छ । प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रणका क्रममा बालुवा, ढुङ्गा र गिट्टी ओसारपसारमा प्रयोग भएका १९ वटा ट्याक्टर नियन्त्रणमा लिएर ९५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
अवैध वन पैदावार ओसारपसारमा संलग्न सात जनालाई पक्राउ गरी १४ वटा साइकल र ५४ घनफिट काठ बरामद गरिएको र यसबाट ३ लाख ११ हजार ६०० रुपैयाँ राजस्व तथा जरिवाना प्राप्त भएको निमित्त सूचना अधिकारी राईले बताए।
घरेलु हिंसा तर्फ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी घटनामा प्रहरीले असोज महिनामा ३९ वटा उजुरी प्राप्त गरेको जनाइको छ । घरेलु हिंसासम्बन्धी ३९ उजुरीमध्ये सबैमा मिलापत्र गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सवारी दुर्घटना तर्फ असोज महिनामा ४० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । दुर्घटनामा ६१ वटा सवारीसाधन संलग्न रहेको प्रहरीले जनाएको छ । यस्तै ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरी प्रहरीले १६ लाख ३६ हजार ५०० रुपैयाँ जरिवाना असुल गरेको छ । यस अवधिमा १ हजार ३४४ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ।